कार्तिक २० धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपालीहरूको मुख्य चाड दसैँ तिहारमा २१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । यस वर्षको दसैँको घटस्थापना देखि भाइटीका सम्मको अवधिमा भएका ५२ वटा सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाएको हुन ।
उक्त अवधिमा ५३ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा दसैँ अवधिमा मात्रै सवारी दुर्घटनामा परेर १३ जनाले ज्यान गुमाएका थिए । दसैँमा डडेल्धुरामा ठूलो दुर्घटना भएको थियो ।
डडेल्धुरामा भएको बस दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए भने १४ जना घाइते भएका थिए । उक्त अवधिमा २ सय ३८ सवारी चालकलाई मापसे कार्बाही गरी एक लाख ३७ हजार राजस्व असुली भएको प्रहरीले जनाएको छ । चिट काटेका सवारी साधन र चालक गरी ४ हजार ७ सय १ लाई कारबाही गर्दा ३४ लाख १४ हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीले जानकारी गराएको छ ।