असोज ०२ बैतडी । नेपालको हवाई क्षेत्रमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका हवाई जहाजका इन्जिनियर ८६ वर्षीय नयनसिंह जन्मेकोे बैतडीको च्वाँगढमा अहिले सम्म मोटर चल्ने बाटो पुगेको छैन । सडक नहुँदा स्थानीयवासीले सदरमुकाम पुग्न पैदल हिँडेर बझाङको देउरा र डडेलधुराको नवदुर्गा गाउँपालिका फन्को मारेर आवत जावत गर्न बाध्य भएका छन । बैतडीका १० वटा स्थानीय तहमध्ये सबैभन्दा ठुलो भूगोल भएको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन ।
सडक नहुँदा गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाका स्थानीय डडेलधुरा भएर बैतडी सदरमुकाम धाउँदै आएका छन् भने ६, ७ र ८ नम्बर वडाका स्थानीय चार घण्टा पैदल हिँडेर बझाङको देउरा घुमेर जिल्ला सदरमुकाम पुग्ने गरेका छन । हवाईजहाजका इन्जिनियर नयन सिंहले ७० वर्षअघि च्वाँगढको सिगासबाट अध्ययनका लागि पैदल हिँडेर भारतको उत्तराखण्ड राज्य पुग्दाको अनुभव सुनाउँदै दुर्गम गाउँमा राज्यको आँखा पुग्न नसकेको बताए । ७० वर्षअघिका ती दिन निकै सङ्घर्षपूर्ण रहेको सुनाउदै उनले हीजो पनि आज पनि गाउँमा सडक नभएको सुनाए ।
अध्ययन गर्न जाँदा भरिया जस्ता भएर खाद्यान्न बोकेर भारतको पिथौरागढ जाने गरेको सुनाए । गाउँपालिकामा अहिले सम्म एउटा पनि प्राविधिक शिक्षाको पढाइ हुने शैक्षिक संस्था खुल्न नसकेको बताउदै उनले प्राविधिक विषयको अध्ययन गर्न सिगास गाउँपालिकाका विद्यार्थी अहिले पनि सातुसामल बोकेर चार घण्टा देखि एक दिनको पैदल बाटो हिँडेर सदरमुकामस्थित वीरेन्द्र मावि धाउन बाध्य भएको बताए ।
सिगासबाट हिँडेर बझाङको देउरा। देउराबाट धनगढी जाने बसमा यात्रा गरेपछि बैतडीको पाटन नगरपालिका वडा नम्बर–८, खोड्पे पुगिने र त्यहाँबाट अर्को जिप चढेर बल्ल सदरमुकाम पुग्ने गरेको स्थानीय धनश्याम धामीले बताए । गाउँका विद्यार्थी कम्प्युटर, कृषि प्राविधिक र सिभिलतर्फको ओभरसियर लगायत प्राविधिक विषयको पढाइ गर्न जिल्ला सदरमुकाम वा नेपालका अन्य सहर धाउने गरेको उनले बताए । ३० वर्षअघि च्वाँगढको सिगास गाउँपालिकामा सडक पु¥याउन तत्कालीन जिल्ला विकास समितिले २०५२ मङ्सिर २८ गते उद्घाटन गरेको सडक सिगास गाउँपालिका वडा नम्बर–२ भन्दा अघि बढ्न नसकेको उनले बताए ।
बैतडी–बझाङ जाने जयपृथ्वी राजमार्गको दुदिलाखानबाट अघि बढेको गाँजरी– थलाकाँडा–ढुङ्गाढ सडकखण्डको ५० किलोमिटर मध्ये हाल गाँजरी सम्म नौ किलोमिटर मात्रै कच्ची सडक खनिएको उनले बताए । गाउँपालिकाको केन्द्र गर्जेसम्म सडक जोड्न स्थानीय तहले डडेलधुराको नवदुर्गा गाउँपालिकाको ठाँटाबाट अघि बढेको सिन्याखेत–गर्जे सडक पहिरोले बगाए पछि यातायात बन्द भएको उनले बताए । गाउँपालिकाका उपाध्यक्ष धना धामीले स्थानीय पैदलबाटो हिँडेर दैनिक उपभोग्य वस्तु ढुवानी गर्न बाध्य भएको बताईन । च्वाँगढको पुरानो सदरमुकाम गाँजरी बजारबाट एक दिनको पैदल दुरी हिँडेर थलाकाँडा र ढुङ्गाढ पुग्नु पर्ने बाध्यता रहेको उनले बताईन ।
सडक नहुँदा गाउँपालिकाका ३, ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका स्थानीय सामाजिक सुरक्षा भत्ता लिन एक दिन पैदल हिँडेर गाँजरीमा रहेको कृषि विकास बैङ्क पुग्ने गरेको उनले बताईन । अन्य गाउँपालिका सडक सञ्जालसंग जोडिए पनि सिगास गाउँपालिका अझै सडक सञ्जालसंग जोडिन नसकेको उपाध्यक्ष धामीले बताईन । दुदिलाखान–गाँजरी–थलाकाँडा सडकसँगै सुरु भएका बैतडीको पाटन–पञ्चेश्वर सडक, सिल्लेगाडा सडक कालोपत्रे भइसके पनि च्वाँगढको गाँजरी सडक अलपत्र परेको स्थानीयले गुनासो गरेका छन ।
प्रदेश सरकारले गाँजरीबाट घौलाडी सम्म ट्र्याक खोले पनि गाउँपालिका केन्द्र गर्जेसम्म सडक नहुँदा सिगास गाउँपालिका वडा नम्बर–१ र २ का स्थानीय एक दिनको पैदल बाटो हिँड्न बाध्य भएको उनले बताईन । सिगास गाउँपालिका वडा नम्बर–१, बिन्द्रावन, जुकेपानी, बेसरा, इराना, माडौँ सडकको अवस्था पनि उस्तै रहेको उनले बताईन । गाउँपालिकामा एम्बुलेन्स चल्ने सडक सुविधा नहुँदा सिगास गाउँपालिकाका अधिकांश सुत्केरीको हवाई उद्धार गरि प्रसूति गराउँदै आइएको उनले जानकारी गराईन ।
गत वर्ष सिगास गाउँपालिका वडा नम्बर–६, थलाकाँडा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेकी २० वर्षीय विन्दु धामीलाई हवाई उद्धार गरेर कर्णाली प्रदेशको सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको उनले जानकारी गराईन । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमले सुत्केरीको ज्यान जोगिए पनि शिशुको मृत्यु भएको उनले बताईन ।
कर्णालीपछि सुत्केरीको हवाई उद्धार हुने सुगम जिल्ला बैतडीको एक मात्रै दुर्गम सिगास गाउँपालिका भएको उनले बताईन । सडक यातायातको पहुँच नहुँदा सुत्केरी बाहेकका बिरामीले अकालै ज्यान गुमाउने गरेको उनले बताईन । यस अघि च्वाँगढबाट एक जना सुत्केरी महिलाको हवाई उद्धार गरेर नेपालगन्ज लगिएको उपाध्यक्ष धामीले बताइन ।
जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले उपभोक्ता मार्फत निर्माण गरिएका सडक मापदण्ड अनुसार नभएको बताए । सङ्घ र प्रदेश सरकारले पर्याप्त बजेट विनियोजित गरेर ठेक्का मार्फत काम गराउनु पर्ने उनले बताए ।