भदौ २९ धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार देखि भइरहेको अविरल वर्षाका कारण कैलालीमा आएको बाढीका कारण ४ सय ३८ परिवार प्रभावित भएका छन ।
सुदूरपश्चिम प्रदेशमा आजदेखि मौसममा सुधार हुने मौसम पूर्बानुमान महाशाखाले जनाएको छ । गएराति देखि वर्षा कम भए पनि नदीहरूमा पानीको बहाव भने घटेको छैन । लगातारको वर्षाले कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ४ सय ३८ परिवार प्रभावित भएका छन् ।
जस अन्तर्गत जानकी गाउँपालिकाका १५, कैलारी गाउँपालिकाका ५३, जोशीपुर गाउँपालिकाका ६० र भजनी गाउँपालिकाका ३ सय १० परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिव राज जोशीका अनुसार बाढीले घर डुबानमा परेका र घर भत्किएका १ सय ६२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जसमा जानकी गाउँपालिकाका ३२, टीकापुर नगरपालिकाका १ सय १०, जोशीपुर गाउँपालिकाका २, भजनी नगरपालिकाका १३, कैलारी गाउँपालिकाका २ र गोदावरी नगरपालिकाका ३ परिवार रहेको प्रशासनले जानकारी गराएको छ ।