भदौ २७ बैतडी । बैतडीमा चमेलिया जलविद्युत्को १३२ केभीको प्रसारण लाइनमुनि बस्ती विस्तार भएकाले दैनिक जोखिम बढ्दै गएको छ । बर्षेनि करेन्ट लागेर मान्छेको मृत्यु हुने गरेका कारण दैनिक जोखिम बढ्दै गएको हो । यही भदौ १७ गते पाटन नगरपालिका वडा नम्बर–६, डुङराकी ५७ वर्षीय जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको घटना सेलाउन नपाउँदै भदौ २१ गते सुर्नया गनउँपालीका वडा नम्बर–८, बाच्पानीका १२ वर्षीय वसन्त बोहोराको बाख्रा चराउन वनमा गएका बेला भुइँ नजिकै लत्रिएको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो ।
विद्युत् वितरण केन्द्रले छ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति पछि परिवार र आफन्तले बालकको शव उठाएका थिए । अधिकांश ठाउँमा चमेलिया जलविद्युत्बाट मुआब्जा लिएर कैयौँ परिवारले घरजग्गा खाली नगरेका कारण जोखिम बढेको बताइृएको छ । बैतडीका चार वटा गाउँपालिकाका दर्जनौँ बस्ती र बजार क्षेत्रमाथिबाट चमेलिया जलविद्युत्का टावर र तार विस्तार गरिएको बताइएको छ । प्रसारण लाइनको मापदण्ड अनुसार जमिन र तारको दुरी न्यूनतम सातदेखि १० मिटर उचाइ हुनुपर्ने भए पनि सतबाँझ बजार क्षेत्र वरपरको बस्तीमा मापदण्ड भन्दा निकै नजिकबाट प्रसारण लाइनका तारमा विद्युत् प्रवाह भइरहेको बताईएको छ ।
विद्युत्का टावर र तारमुनिको जग्गामा नक्सा पास नगरी नयाँ घर निर्माण भइरहेको बताईन्छ । चमेलियाको विद्युत् विस्तार हुँदा टावर निर्माण भएका ठाउँको घरजग्गाको एक लाख देखि दुई लाख रुपैयाँसम्म मुआब्जा वितरण गरिए पनि मुआब्जा लिनेले घर नसारेको बताईएको छ । बैतडीको डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका दर्जनौँ बस्तीमाथि प्रसारण लाइनको उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको छ । सुर्नया गाउँपालिका सतबाँझ बजार क्षेत्र र पाटन नगरपालिकाको खोड्पे बजारको शिवालय क्षेत्र वरपर जमिन र घरको छत नजिकबाट उच्च करेन्ट प्रभाव भइरहेका तारले दुर्घटनाको जोखिम बढाएको छ ।
चमेलिया जलविद्युत्को डबल सर्किटका टावरका तारमा अहिले १५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ । उच्च भोल्टेजको करेन्ट प्रभाव हुँदा ठुलो पानी परेका बेला विद्युतीय दुर्घटनाको जोखिम रहेको विद्युत् वितरणकेन्द्र बैतडीका कार्यालय प्रमुख जनार्दन पौडेलले बताए । उनले सतबाँझ बजार क्षेत्रमा विद्युत्को टावरमुनिको जमिन काटेर घडेरी बनाइरहेको पाइएको बताए । स्थानीय तहले घरको नक्सा पास गरेर मात्रै नयाँ घर निर्माण गर्न दिनु पर्छ । टावर र तारमुनि घरजग्गा परेर मुआब्जा पाएकालाई दुर्घटनाबाट बचाउन नयाँ ठाउँमा सार्नु पर्छ ।
तार चुँडिएर वा पानी परेका बेला विद्युतीय दुर्घटनाको जोखिम छ ।” गत वर्षको भदौ १८ गते चमेलिया जलविद्युत्को तारबाट भुइँमा करेन्ट प्रभाव हुँदा डिलासैनी गाउँपालिका वडा नम्बर–६, बाङ्गाबगरकी ४० वर्षीय कलावती नाथको मृत्यु भएको थियो । घाँसको भारीले बारी नजिकैमाथिबाट गएको तार छोइँदा गम्भीर घाइते नाथको हेलिकोप्टरबाट उद्धार गरी नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियोे । विद्युत् आधारभूत आवश्यकता भइसकेकाले विद्युतीय दुर्घटना हुन नदिन स्थानीय तहले निर्माण गर्ने शैक्षिक पाठ्यक्रममा विद्युतीय सचेतनाको विषय राख्नुपर्ने बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले सुझाव दिएका छन ।