भदौ २७ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा १९ वटा सडक कालोपत्र गर्ने भएको छ । धनगढी बजार क्षेत्रका १९ सडकको ११ किलोमिटर कालो पत्र गरिने भएको हो । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालय, कैलाली मार्फत सडक कालोपत्र गरिन थालिएको छ । निर्माण कम्पनीहरूले सडक निर्माणका लागि नाली निर्माणको काम सुरु गरेका छन ।
पूर्वाधार कार्यालय, कैलालीका प्रमुख रामचन्द्र खत्रीले सडकका नाली निर्माणको काम सुरु भएको बताए । प्रदेश सरकारले ६ वटा ठेक्का मार्फत धनगढीका १९ सडक कालोपत्र गर्ने भएको हो । प्रदेश सरकारले गत वैशाखमा सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो । १५ किलोमिटर नाली र ११ दशमलव पाँच किलोमिटर सडक कालोपत्रको काम जारी रहेको छ । पूर्वाधार विकास कार्यालय, कैलालीले ५२ करोड चार लाख ३४ हजार चार सय ५० रुपैयाँमा ६ वटा ठेक्का मार्फत सडक कालोपत्र गर्ने भएको हो ।
प्रदेश सरकारले हालसम्म सडक निर्माणमा पाँच करोड ६५ लाख ६७ हजार आठ सय ८२ रुपैयाँ खर्च गरेको छ । टेम्पल रिसोट–शिवपुरी धाम–तुलसी चोक सडकको भौतिक प्रगति ४० प्रतिशत पूरा भएको छ । रुबस होटेल–बैयाबेहडी सडकको ३० प्रतिशत, न्यासनल मार्गको ६० प्रतिशत, पुरानो भन्सार रोडको २८ प्रतिशत, पुपलाल चोक–धनगढी गाउँ सडकको ४० प्रतिशत, त्रिवेणी सडकको २५ प्रतिशत, चटकपुर–फाप्ला सडकको ३० प्रतिशत काम सकिएको छ ।
त्यस्तै, मैदामिल–हिमाली गाउँ–कैलाली गाउँ सडकको ३५ प्रतिशत, बहिरा स्कुल सडकको ३० प्रतिशत, गठबन्ध चोक– शिवपुर धाम सडकको ४० प्रतिशत, कृष्ण टोल सडकको ४० प्रतिशत, सहिद गेट–शिवपुरी न्यूरोडको ३० प्रतिशत र खप्तड बडीमालिका टोल सडकको १० प्रतिशत काम पूरा भएको छ । अन्य सडकहरुको निर्माण कम्पनीले काम सुरु समेत गरेका छैनन । २०८१ को वैशाखमा सम्झौता गरिएको धनगढीका १९ वटा सडक निर्माणको काम २०८२ असार सम्म पूरा गर्नुपर्ने छ ।