भदौ २६ बैतडी । बैतडीमा तिन बर्षको अबधीमा ९३ जनाले आत्म हत्या गरेका छन । आत्महत्या रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि तिन बर्षको अबधीमा ९३ जनाले आत्म हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८÷७९ मा १२ जना महिला र २४ जना पुरुष गरी ३६ जनाले आत्महत्या गरेका थिए । जसमध्ये ३० जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने ६ जनाले बिष सेवन गरेर आत्महत्या गरेका थिए ।
त्यसैगरी आर्थिक बर्ष २०७९÷८० मा १३ जना महिला र १२ जना पुरुष गरेर २५ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ । यस्तै गत आर्थिक बर्षमा १६ जना महिला र १६ जना पुरुष गरेर ३२ जनाले आत्महत्या गरेको तथ्याँङकले देखाएको छ । चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी गराएका छन ।
आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरुको संख्या बढ्दै गएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । आत्महत्या रोकथामका लागि प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि अभिभावकहरुले पनि ध्यान दिनुपर्ने उनले बताए । आत्महत्या रोकथामका लागि पारिवारिक सम्वादको वातावरण आवश्यक रहेको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए ।
किशोरावस्थाका छोराछोरीहरुसंग आमा–बुवाको निरन्तर सम्वाद हुनुपर्ने उनले बताए । आत्महत्या मानसिक स्वास्थ्यको समस्याका कारण बढ्दै गएकाले मानसिक स्वास्थ्यका कार्यक्रम विस्तार गरिनु पर्ने पाटन नगरपालिकाकी जनस्वास्थ्य निरीक्षक दमन्ती ऐरले बताइन् । उनले स्वास्थ्य भनेर शारीरिक स्वास्थ्यलाई मात्रै हेरिरहेको बताईन ।
मानसिक स्वास्थ्यका बिषयमा त्यति ध्यान दिन नसकेको बताउदै उनले आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यका कार्यक्रमहरुलाई विस्तार गर्नु जरुरी भएको बताईन । आत्महत्या रोकथामका लागि प्रहरीले वडा तहमै आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यदल समेत गठन गर्दै आएको छ ।
कार्यदल मार्फत आत्महत्या रोकथामका बिषयमा जनचेतना फैलाउने गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनले आत्महत्या रोकथामका लागि प्रयास गरिरहेको बताउदै आत्महत्याका घटनामा कमी आउन नसकेको बताए ।