भदौ २६ दार्चुला । दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन । हिमाली जिल्ला दार्चुलाको व्यास, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेकाले दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका हुन । कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले किसान स्याउ खेतीमा आकर्षित भएको जानकारी गराएका हुन ।
गत वर्ष १ सय ७० हेक्टर जमिनमा दुई हजार २ सय ३० मेट्रिक टन स्याउ उत्पादन गरिएकोमा यस वर्ष १ सय ८८ हेक्टर जमिनमा दुई हजार ४ सय ७० मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत ठगुन्नाले जानकारी गराए । उनका अनुसार दार्चुलामा पछिल्लो समय स्याउ उत्पादनमा किसानको आकर्षण बढ्दै गएको छ ।
हिमाली क्षेत्रको स्याउ असोजमा मात्रै बजारमा आइपुग्ने भए पनि यस वर्ष जङ्गली जनावरको प्रकोप बढेकाले नौगाड र मार्माको स्याउ स्थानीय बजारमा आइपुगेको उनले बताए । पहिलो पटक खलङ्गा, गोकुलेश्वर बजारसम्म स्याउ पठाइएको उनले जानकारी गराए ।
दार्चुलामै उत्पादन भएको स्याउको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ कायम गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । अन्य क्षेत्रमा फलेको स्याउ भने असोज पछि मात्रै बजारमा आइपुग्ने उनले बताए । दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा सबैभन्दा बढी स्याउ फल्ने गरेको कृषि अधिकृत ठगुन्नाले जानकारी गराए ।