भदौ २४ धनगढी । कैलालीको गेटामा मेडिकल कलेज संञ्चालनको माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ । गेटा बिश्वबिद्यालयको माग गर्दै संघर्षरत स्थानीय समितिले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर संञ्चालनको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
कैलालीला प्रमुख जिल्ला अधिकारी मार्फत समितिले सोमबार ज्ञापन पत्र बुझाएको हो । समितिका संयोजक लोकराज पाण्डे आगोको नेतृत्वमा सांकेतिक रूपमा डाक्टरको ड्रेस लगाएर बिद्यार्थी सहितका ब्यक्तिहरु जिल्ला प्रशासन कार्यालय कैलाली पुगेर ज्ञापन पत्र बुझाएका हुन ।
देश भरीमा पच्चिस वटा भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान सञ्चालन भइरहँदा सुदूरपश्चिम प्रदेशमा एउटा पनि नहुनुमा राज्यको सुदूरपश्चिम प्रतिको हेर्ने हेपाहा दृष्टिकोण भएको ज्ञापन पत्रमा ठहर गरिएको छ ।
संघिय संसदको यहि अधिवेशनमा स्वास्थ्य, विज्ञान विश्व विद्यालय सम्वन्धि विधेयक पास गर्नुका साथै ६ सय सैया भन्दा बढीको अस्पताल सञ्चालनका लागि बनाइएका संरचनामा ५० शैया सञ्चालन गरेर उक्त परियोजनालाई तुहाउने प्रयास भएको ज्ञापन पत्रमा उल्लेख गर्दै तत्काल मेडिकल अध्ययन–अध्यापनका लागि आवश्यक पर्ने कम्तिमा ३ सय शैयाको अस्पताल सञ्चालनका लागि आग्रह गर्दै चिकित्साशास्त्रको मूर्तरुप निर्माणमा पहल गरिदिन आग्रह गरिएको छ ।
संघीय सरकारले २०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शय्याको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी स्वीकृति मात्र दिएको छ । नीतिगत निर्णय गरिएको विषयमा समेत बेवास्ता गरिएको भन्दै विद्यार्थीसँगै नागरिक समाज सरकार प्रति रुष्ट बनेको छ ।