भदौ २३ धनगढी । कैलाश मानसरोवरको यात्राका लागि महाकाली करिडोर सहज बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेव देखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्ने भएकाले सहज बन्दै गएको हो । कुल ४ सय २५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला जोड्ने गरेको छ । यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने भएका छन् । करिडोर निर्माणपछि चीनमा रहेको कैलाश मानसरोवर यात्रा सहज हुने अपेक्षा गरिएको छ ।
महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ मानिएको कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धवैजनाथ हुँदै कैलाश मानसरोवरसम्म पुग्नका लागि यो सबैभन्दा छोटो बाटो हुने बताइएको छ । धार्मिक दृष्टिकोणले सुदूरपश्चिम देवभूमिका रूपमा परिचित छ । महाकाली करिडोरमा पर्ने कञ्चनपुरको सिद्धवैजनाथ धाम, डडेलधुराको परशुरामधाम, बैतडीको त्रिपुरासुन्दरी र दार्चुलाको मालिकार्जुनधाम हुँदै कैलाश मानसरोवर पुग्न सकिने भएकाले करिडार निर्माण पछि धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चुरे महाभारत पर्वत अन्तर्गत डडेलधुराको परशुराम नगरपालिकामा रहेको परशुराम धामसम्म भने ट्र्याक खुलिसकेको छ ।
विसं १४७५ मा भारतको झारखण्डबाट विहार, कुमाउ कतुरकोट गरुडगोवती हुँदै सिद्धवैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ । परशुरामधाममा रहँदा सिद्धवैजनाथ बाबा र त्यहाँका तत्कालीन राजा नागी मल्लबीच खटपट भएपछि उक्त ठाउँ छाडेर बुड्डीमलास पीपलकोट (हालको वेदकोट क्षेत्रमा आई तपस्या गरेको विश्वास रहेको छ । करिडोर त्रिपुरासुन्दरीको मन्दिरको फेद हुँदै राष्ट्रको साताँ धामका रूपमा परिचित मालिकार्जुन हुँदै टिङ्कर पुग्ने बताइएको छ । महाकाली करिडोर सञ्चालनमा आए व्यापारिक गतिविधिसँगै धार्मिक पर्यटन बढ्ने विश्वास लिइएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले बताए । “कञ्चनपुर भारतसँग र दार्चुला चीनसँग जोडिए पछि धार्मिक पर्यटकको सङ्ख्या अपेक्षा गरिएको छ मल्लले बताए ।
भारतको उत्तराखण्डसँग हाम्रो धार्मिक सम्बन्ध छ त्यसकारण त्यहाँको मानिस नेपाल आउन चाहन्छन् ।” उत्तराखण्डको हरिद्वार, ऋषिकेष र हिमाञ्चलमा आउने तेस्रो मुलुकका पर्यटकका लागि कैलाश मानसरोवरसम्म पुग्न यो सडक प्रयोग गर्न सक्ने छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज देखि दार्चुलाको अपिनाम्पा सम्म पुग्न पनि करिडोर निर्माणपछि सहज हुनेछ । करिडोर निर्माणले मात्रै सुदूरपश्चिम प्रदेशको विकास सम्भव छ । यसले चीनसँगको व्यापारको ढोका खोल्ने छ । उनका अनुसार सुदूरपश्चिम घुम्न आउने पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको विशाल घाँसेमैदानमा दुर्लभ बाह्रसिङ्गाको झुण्ड अवलोकन गर्दै ब्रह्मदेव हुँदै दार्चुलाको अपिहिमालको फेदसम्म पुग्न सक्छन् । त्यसैगरी एशियाकै लामो दोधारा चाँदनी झोलुङ्गे पुल पर्यटकको अर्को आकर्षणको गन्तव्य हो ।
महाकाली करिडोर निर्माणपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको विश्वास छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर तथा देवदात लगायत धार्मिकस्थल पनि करिडोर नजिकै छन् । करिडोरको निर्माण सम्पन्न भए धार्मिक पर्यटक बढ्ने बताउदै उनले आर्थिक गतिविधि पनि बढ्ने बताए । त्यसैले जतिसक्दो करिडोर सम्पन्न गर्नेमा जोड दिनुपर्ने उनले बताए । निर्माण सुरु भएको डेढ दशक भइसक्दा पनि करिडोर निर्माण सम्पन्न नहुँदा प्रदेश विकासमा पछि परेको उनले बताए । बैतडीकै दशरथचन्द नगरपालिकामा ईश्वरी गङ्गाधाम, निङ्गलाशैनी मन्दिर लगायतका पर्यटकीयस्थल रहेका छन ।
महाकाली करिडोरले बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका गरी चार वटा स्थानीय तहमा सुविधा पु¥याउने बताइएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकाका गणेश भट्टले बैतडीका धार्मिकस्थलमा भारतबाट अहिले पनि पर्यटक आइराखेको बताए । सडक सञ्जालको सहज सुविधा भए पर्यटक बढ्ने बताउदै उनले सुदूरपश्चिमको आर्थिक समृद्धिका रूपमा महाकाली करिडोरलाई लिएको बताए । नेपालकै गहिरो पतालभुवनेश्वर गुफा, मेलौली भगवती मन्दिर, रौलाकेदार, भिटाकेदार, उदयदेव मन्दिर, सिँगास, त्रिवेणीधाम, डिलाशैनी मन्दिर लगायतको विकासमा पनि करिडोर सहयोगी हुने उनले बताए ।
करिडोर निर्माण जति सक्दो चाँडो भयो त्यति नै चाँडो दार्चुलाको विकास हुने व्यास गाउँपालिका वडा नम्बर –१ तिङ्करका विनोद बुढाथोकीले बताए । उनका अनुसार नेपाल र चीनको सिमाना ताक्लाकोटमा रहेको पिल्लर नं १ देखि कैलाश मानसरोवर पुग्न आधा दिन मात्रै लाग्छ । “यो नाकाबाट एक दिनमै कैलाश मानसरोवर दर्शन गरेर फर्किन सकिन्छ । यसले धार्मिक पर्यटक बढाउने छ, त्यसका लागि यहाँसम्म पुग्नका लागि पहिलो करिडोर निर्माण हुन जरुरी छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सरकारले दार्चुलाको टिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बताएका छन ।
उनले त्रिदेशीय नाकाका रूपमा यसलाई विकास गर्न सके व्यापारिक, धार्मिक लाभ हुने बिताएका छन । त्रिदेशीय नाकाका रूपमा विस्तार गर्ने विषयमा छलफल अघि बढिसकेको बताउदै उनले निकट भविष्यमा दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना हुने बताएका छन । गृहमन्त्री लेखकले त्रदेशीय नाका अन्तरआबद्धताका लागि मात्रै नभइ व्यापारिक, औद्योगिक र पर्यटकीय प्रयोजनका लागि महत्त्वपूर्ण मानिएको बताउका छन ।
करिडोरको निर्माण विसं २०६६ देखि सुरु भएकोबताउदै उनले कुल ४ सय २५ किलोमिटर मध्ये ३ सय ३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको बताए । कञ्चनपुरको ब्रह्मदेव देखि डडेलधुराको परशुराम सम्मको ११ किमी सडकको ट्र्याक खुलेर सञ्चालनमा आइसकेको उनले बताए । ब्रह्मदेव देखि दार्चुलाको तुसारपानी सम्म तीन सय ३४ किमी करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको उनले बतँए । जसमध्ये हालसम्म दुई सय ४२ किमी ट्र्याक खुलिसकेको उनले बताए ।