भदौ २३ धनगढी । धनगढीको त्रिनगर भन्सार नाकामा शनिबार राती पार्किङ गरेर राखिएका ट्याङकरका चालक र सहचालकमाथि धारिलो हरियार प्रहार भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ट्याङकरका चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवालाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको घटनाको अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विवाद सिर्जना गराउने भनिएका ट्याङकर सहचालक डोटीको जोरायल गाउँपालिका वडा नम्बर–१ का बिक्रम मल्ल, दिपायल सिलगढी नगरपालिका वडा नम्बर–३ का अरुण बोगटी, धनगढी उप महानगरपालीका वडा नमबर–२ बस्ने १६ वर्षीय पुस्कर धामी, इसान गुरुङ र सनम राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु मध्ये मल्ल र बोगटीलाई शनीबारराती र अन्य तीन जनालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी गराए । ट्याङकरका चालक र सहचालकमाथि आक्रमण गरि धारिलो हतियार प्रहार गर्ने मुस्कान सिंह सहितका केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको बिष्टले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीको हिरासतमा रहेका ट्याङकरका सहचालक बिक्रम मल्ल र पुस्कर धामीबीच प्रेमिकाको विषयलाई लिएर भएको विवादले घटना भएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मल्ल धनगढीको नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक किशोरीसँग प्रेम सम्बन्धमा थिए भने उनीसँग विवाद गर्ने पुस्कर धामी पनि ती किशोरीसँग अध्ययन गर्ने विद्यार्थी हुन् । किशोरीसँगको चिनजानका कारण उनीहरु दुवै जना मल्ल र धामी पनि फेसबुकमा साथी भएका थिए । दुवै जनाबीच बेलाबखत कुराकानी समेत हुने गरेको पाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मल्लले धामीले समेत आफ्नो प्रेमिकालाई विद्यालयमा जिस्काउने गरेको कुरा थाहा पाएपछि उनीहरुबीच विवाद सुरु भएको बताइएको छ ।
फेसबुक मार्फत केही समयदेखि उनीहरुबीच झगडा भइरहेको बताईउको छ । धामीले बिना कारण आफूमाथि आरोप लगाएको र मल्लले प्रेमिकालाई जिस्काएको निहुँमा दुवैबीच वादविवाद चल्दै आएको बताईएको छ । अहिलेसम्म प्रत्यक्ष भेटघाट नगरेका उनीहरु तर शनिबार भने दुवै एक आपसमा भिडेको बताइएको छ । राति करिब ९ बजेतिरसँगै रहेका अर्का सहचालक अरुण बोगटीलाई लिएर धामीलाई भेट्न मल्ल मिलनचोक पुगेको बताईन्छ । धामी पनि नवदुर्गा माध्यमिक विद्यालयमै कक्षा ८ मा अध्ययनरत सनम राई र ७ मा अध्ययनरत इसान गुरुङलाई लिएर मल्ललाई भेट्न पुगेको बताइन्छ । भेट हुने बित्तिकै दुई पक्षबीच हात हालाहाल भएको बताइन्छ । त्यो क्रममा मल्लले धामीको टाउकोमा फलामको रड जस्तो देखिने वस्तुले हिर्काएको प्रहरी अनुसन्धाले देखाएको छ ।
ट्याङकरका अन्य सहचालक सहित १०÷१५ जनाको समूह त्यहाँ पुगेपछि धामीको समूह भागेको बताइएको छ । त्यही बेला त्यहाँ पुगेको प्रहरीले अब झगडा नगर्न भन्दै सम्झाईबुझाई गरेर ट्याङकरका सबै चालक, सहचालकलाई गन्तव्यतर्फ पठाएको बताईन्छ । मल्ल र बोगटीबाट नराम्रोसँग कुटाइ खाएपछि पुस्कर धामी सहितका तीन जना किशोर भागेर घर गएको बताईन्छ । अन्य मानिसहरु तितरवितर भएर आ–आफ्नो गन्तव्यमा लागेपछि चालक र सहचालक पनि भन्सार अगाडी पार्किङ गरिएका इन्धन लोड गरेका ट्याङकरमा गएर सुतेको देखिन्छ । उनीहरु धामीको समूह फेरी नआउनेमा ढुक्क हुँदै सुतेको भए पनि कुटाइ खाएका धामीमा भने बदलाको भाव रहेको बुझिएको छ ।
धामीले अन्य ६÷७ जना किशोरलाई घटनाबारे जानकारी दिएर आफूमाथि आक्रमण गर्ने ट्याङ्कर चालक मल्ल र सहचालक बोगटीलाई कुट्ने योजना बनाएको देखिएको छ । सोही योजना अनुसार मुस्कान सिंहसहितका ५÷६ जनाको समूह त्रिनगर भन्सार क्षेत्रमा धारिलो हतियार सहित दुवै जनाको खोजीमा निस्किएको बुझिएको छ । उनीहरु त्यहाँ पुग्ने बेलासम्म ट्याङकरका चालक र सहचालकहरु भने निदाइसकेको पाईउको छ । उनीहरुले पार्किङ गरिएका ट्याङकरमाथि प्रहार गरेर ट्याङकर तोडफोडमा उत्रिएको थाहा पाएपछि ना ६ ख ९४०६ नम्बरको ट्याङकरका चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नमबर –१ का २४ वर्षीय हरेन्द्र देउवाले किन त्यस्तो गरेको भनेर सोध्न जादा उनीमाथि धारिलो हतियार प्रहार गरेका थिए ।
उनीसँगै रहेका सोही ट्याङकरका सहचालक कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ का २२ वर्षीय अनिल देउवालाई समेत हतियार प्रहार गरेका थिए । किशोरको समूहको आक्रमणमा पर्ने दुवै जना मल्ल र धामीको विवादका कारण अनाहकमा आक्रमण परेको देखिएको प्रहरीले जनाएको छ । घटना पूर्व धामीसँग देउवाद्धयको कुनै विवाद नरहेको खुलेको छ । दुवै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताईएको छ ।