भदौ २२ बैतडी । बैतडीमा करेन्ट लागेर मृत्यु भएका १२ वर्षीय बालक बसन्त बोहराको परिवारलाई क्षतिपुर्ति दिईने भएको छ । मृतक बालकको परिवारलाई क्षतिपुर्ति वाफत पाउने ५ लाख र विद्युत कार्यालयले थप डेढ लाख सहित साढे ६ लाख क्षतिपुर्ति दिईने भएको हो ।
शुक्रबार सुर्नया गाउँपालिका वडा नम्बर–८ बाच्पानीका १२ वर्षीय बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको थियो । स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बालक बोहराले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विद्युतको तारमा छोइएर करेन्ट लाग्दा मृत्यु भएको थियो ।
उक्त घटनाको पूर्ण जिम्मेवारी विद्युत वितरण केन्द्रले लिनुपर्ने माग सहित स्थानीयहरु आक्रोशित भएर खोडपे—बझाङ सडकखण्ड अवरुद्ध गरेका थिए । क्षतिपुर्ति दिईने सहमती पश्चात अवरुद्ध सडक खोलिएको थियो ।
पीडित पक्षले विद्युत वितरण केन्द्रको लापरवाहीबाट बालकको मृत्यु भएको भने पनि विद्युत वितरण केन्द्रको लापरवाहीबाट उक्त घटना भए नभएको एकिन गर्न छानबिन समिति बन्ने र सोही छानबिन समितिको प्रतिबेदनबाट घटनाको एकिन हुने विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी गराएका छन ।