भदौ २१ धनगढी । सुदूरपश्चिम प्रदेशमा दुधको उत्पादन बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा दुधको उत्पादनमा ८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा ५ दशमलव २३ प्रतिशतले उत्पादनमा वृद्धि भएको थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा भने ८ दशमलव ५२ प्रतिशतले वृद्धि भएर एक लाख ६८ हजार ९ सय ४१ लिटर दुध उत्पादन भएको छ । दुध उत्पादनमा कैलाली जिल्ला अग्रस्थानमा देखिएको छ ।
कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ५७ दशमलव ७३ र बझाङ जिल्लाको सबैभन्दा कम १ दशमलव ४७ प्रतिशत रहेको जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र एवं पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकले देखाएको छ । दार्चुलामा ८ हजार ७ सय ६, बैतडीमा ८ हजार ८ सय ५, डडेल्धुरामा ४ हजार २ सय ३२ र कञ्चनपुरमा ११ हजार ९ सय ८९ लिटर दुध उत्पादन भएको तथ्याङकले देखाएको छ ।
त्यसैगरी बझाङमा २ हजार ४ सय ८५, बाजुरामा १० हजार ७ सय ७५, डोटीमा १२ हजार ९ सय ९४, अछाममा ११ हजार ४ सय २३ र कैलालीमा ९७ हजार ५ सय ३२ लिटर दुध उत्पादन भएको तथ्याङकले देखाएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध सुदूरपश्चिममा अपुग छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ मानव जीवनका लागि प्रत्येक व्यक्तिलाई प्रत्येक वर्ष ९१ लिटर दूध आवश्यक हुन्छ । मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष सरदर ८० दशमलब ७२ लिटर दूध मात्र आपुर्ति भइरहेको छ ।