भदौ १७ बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ बिक्रीका लागि बजारमा आएको छ । विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ठेकेदारले बारीमै पुगेर कर्णाली करिडोरको बाटो हुँदै कैलालीको लम्की लगायतका विभिन्न बजारमा बिक्रीका लागि ल्याएका हुन । कोल्टी–मार्तडी सडक सुचारु होला भनेर बारिमै राखिएको अर्गानिक स्याउँ सडक सुचारु नभए पछि ठेकेदारले कर्णाली केरिडोरको बाटो हुँदै जिल्ला भन्दा बाहिरका विभिन्न बजारमा ल्याएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्याउ किसान मेघराज भट्टले बताए ।
गाउँमा उत्पादन गरेको स्याउले समयमै बजार पाउँन थालेपछि अहिले स्याउ बिक्री गरेर घरखर्च चलाउन निकै सहज भएको भट्टले बताए । गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा बिक्रीका लागि लगिएको उनले बताए । यो वर्ष मार्तडी–कोल्टी सडक लामो समय देखि अवरुद्ध बन्दै गएकाले स्याउ कर्णाली करिडोरबाट कैलाली, नेपालगञ्ज र काठमाडौँ लगिएको उनले बताए । यो वर्षमा स्वामिकार्तिक खापर गाउँपालिकामा झण्डै एक करोड भन्दा बढिको स्याउ उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
बाजुराको सबैभन्दा बढि स्याउ उत्पादन हुने पालिका स्वामिकार्तिक खापर गाउँपालिका भएको उनले बताए । जेवाले, सैडेओ खुनका, लोकी र जोरुमा स्याउ राम्रो उत्पादन भएको जानकारी गराउदै उनले अहिले दुई ट्रक स्याउ कैलालीको लम्की बजारमा पुगेर धमाधम बिक्री भइरहेको बताए । अझै ३० ट्रक स्याउ जिल्ला भन्दा बाहिर लिएर बिक्री गर्ने तयारी भइरहेको कृषि शाखा प्रमुख बिनोदशाहीले बताए । बाजुराको हिमाली, जगनाथ, बुढीनन्दा, गौमुल र खप्तड छेडेदह लगायतका स्थानीय तहमा पछिल्लो समयमा स्याउ उत्पादन हुने गरेको छ ।
सबै भन्दाबढी स्वामिकार्तिक खापर गाउँपालिकामा स्याउ उत्पादन हुने गरेको छ । स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले स्याउ उत्पादनका लागि राम्रो उपयुक्त माटो भएकाले अधिकांश किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको बताए । पहिला बढि स्थानीय जातको स्याउ उत्पादन हुने गरेको बताउदै उनले अहिले गोल्डेन डेलिसिएस लगायतका बढि मूल्य पर्ने तथा स्वास्थ्यलाई पोषिलो हुने स्याउ उत्पादन हुने गरेको बताए ।
अन्य ठाउँमा विषादी प्रयोग गरेर स्याउ उत्पादन गरिएको हुने बताउदै उनले गाई गोरु र भेडाको गोबरको मल प्रयोग गरेर स्याउ उत्पादन गर्ने गरेको बताए । गत वर्षमा स्याउ किसानलाई स्याउ बिक्रीमा ढुवानी अनुदान सहयोग गरिएको बताउदै उनले यस वर्ष स्याउ उत्पादन हुने सबै वडामा सेल स्टोर निर्माणमा सहगोग गरेकोले त्यो अनुदान दिन नसकिने बताए । ठेकेदार आफै स्याउँ बारीमै आएर एक किलोको चालिस रुपियाँका दरलेस्याउ लिने गरेकाले पनि किसानलाई स्याउ बिक्रीमा निकै सहज भएको अध्यक्ष रोकायाले बताए ।