भदौ १७ बाजुरा । बाजुरामा उमेर नपुग्दै विबाह गरेका ४ सय ३८ जना महिला आमा बनेका छन् । सुदूरपश्चिम प्रदेशमा उमेर नपुग्दै चार हजार बढी महिलाले बच्चा जन्माएका छन् भने यस्तो संख्या वर्षेनि बढ्दै गएको छ । उमेर नपुग्दै बच्चा जन्माउने महिलाको संख्या सबैभन्दा बढी कैलालीमा देखिएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा ४ हजार ४ सय ५५ जना महिला २० वर्ष नपुग्दै आमा बनेको देखाएको छ । उक्त वर्ष प्रदेशभरी ४२ हजार ६ सय ४२ जना महिला सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । जसअनुसार कुल सुत्केरीको १० दशमलव ४५ प्रतिशत महिला २० वर्ष नपुग्दै सुत्केरी भएका छन् ।
कैलालीमा आर्थिक वर्ष २०७९÷८० मा एक हजार ७ सय १९ जना महिला २० वर्ष नपुग्दै आमा बनेका छन् । त्यसैगरी बझाङमा ४ सय ६८ जना महिला २० वर्ष नपुग्दै सुत्केरी भएका छन् । त्यसैगरी कञ्चनपुरमा ४ सय ११ जना, अछाममा ४ सय ९ जना, डोटीमा ३ सय २६ जना, डडेल्धुरामा २ सय ५९ जना, बैतडीमा २ सय ३३ जना र दार्चुलामा १ सय ९५ जना महिला २० वर्ष नपुग्दै आमा बनेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको हो ।
त्सैगरीै आर्थिक वर्ष २०८०÷८१ मा सुदूरपश्चिम प्रदेशमा कुल ३८ हजार ८ सय ५३ जना महिला सुत्केरी भएका छन् । जसमध्ये २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुनेको सङ्ख्या ४ हजार ३८ जना देखिएको छ । गत आर्थिक वर्षमा २० वर्ष नपुग्दै आमा बन्ने महिलाको संख्या कैलालीमा बढी रहेको छ । कैलालीमा १ हजार ४ सय ५८ जना महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन् ।
गत आर्थिक वर्ष कञ्चनपुरमा ५ सय ३, बझाङमा ३ सय ९९, अछाममा ३ सय ७८, डडेल्धुरामा ३ सय १०, डोटीमा २ सय ७२, बाजुरामा २ सय ६४, दार्चुलामा २ सय २९ र बैतडीमा २ सय २५ जना महिला २० वर्ष पूरा नहुँदै आमा बनेका छन् ।