भदौ १७ धनगढी । सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ सम्म कुल १८ हजार १ सय ३१ हेक्टर क्षेत्रफलमा फलफुल तथा मसाला खेती विस्तार गरिएको हो । कृषि ज्ञान केन्द्र र कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा बढी कैलालीमा ७ हजार ५ सय ८७ र सबैभन्दा कम अछाममा ५ सय ८८ हेक्टर क्षेत्रफलमा फलफूल तथा मसाला खेती विस्तार गरिएको छ ।
त्यसैगरी दार्चुलामा ९ सय ४८, बैतडीमा ६ सय ५०, डडेल्धुरामा २ हजार ४ सय ६८ र कञ्चनपुरमा एक हजार ४ सय २० हेक्टर क्षेत्रफलमा फलफूल तथा मसला खेती गरिएको छ । त्यस्तै बझाङमा एक हजार २ सय ८८, बाजुरामा एक हजार ३० तथा डोटीमा २ हजार १ सय ५२ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिएको निर्देशनालयको तथ्यांकले देखाएको छ । उक्त अवधिसम्म सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बाली २ लाख ९५ हजार ९ सय ७४ हेक्टर क्षेत्रफलमा गरिएको छ ।
त्यस्तै तरकारी तथा बागवानी २५ हजार १ सय ६९ हेक्टर क्षेत्रफलमा गरिएको तथ्यांक छ । गत वर्ष प्रमुख कृषि बाली खाद्य तथा अन्य बाली, तरकारी एवं फलपूmल तथा मसलाको उत्पादन शून्य दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा समग्र कृषि बालीको उत्पादनमा १५ दशमलव २२ प्रतिशतले वृद्धि भएको थियो ।
प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र तेलहनको उत्पादन क्रमशः २८ दशमलव ४१ प्रतिशत र २१ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ भने उखुको उत्पादनमा सबैभन्दा बढी १३ दशमलव ४७ प्रतिशतले कमि आएको छ । त्यसैगरी, अन्य बालीहरुमा धान, मकै, कोदो, आलु, भटमास र दलहनको उत्पादन क्रमशः २ दशमलव ७४ प्रतिशत, ४ दशमलव ४५ प्रतिशत, २ दशमलव ५८ प्रतिशत, ८ दशमलव ६३ प्रतिशत, १२ दशमलव ८३ प्रतिशत र १३ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।