भदौ १६ धनगढी । वडा अध्यक्ष र नगर प्रहरीलाई आक्रमण गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ३ डिलासैनी टोलका २८ बर्षिय रविन्द्र धानुकलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ डिलासैनी टोलमा ट्रीगार्ड उखेल्दै गरेका धानुकलाई रोक्न खोज्दा वडा अध्यक्ष र नगर प्रहरीलाई आक्रमण गरेपछि धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।
वडा अध्यक्ष राजबहादुर ऐर र नगर प्रहरीले ट्रीगार्ड नभत्काउन आग्रह गर्दा धानुकले वडा अध्यक्ष ऐर र नगर प्रहरी जवान सुरेन्द्रबहादुर चन्दको औंलामा टोकेर घाइते बनाएको बताइएको छ । गाली गलौज र आक्रमणमा उत्रिएका धानुकलाई सम्झाउन खोज्दा अर्का नगर प्रहरी जवान खेमबहादुर पातलीलाई समेत चोट लागेको अध्यक्ष ऐरले बताए । गालीगलौज र ढुङ्गामुढामा उत्रिएका धानुकलाई नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए ।
उनलाई राति साढे ९ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । धानुकले विगतमा समेत रिङ रोड र ६ लेन सडकमा बिरुवामा क्षति पु¥याउने, ट्रीगार्ड उखेल्ने र फाल्ने गर्दै आएको बताईन्छ । शनिवार राति ट्रीगार्ड फाल्न लागेका धानुकलाई वडा अध्यक्ष ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै आक्रमण गरिएको उनले बताए । ६ लेन सडकमा ड्युटी गरिरहेका नगर प्रहरीलाई अध्यक्ष ऐरले खबर गरेपछि नगर प्रहरी जवान खेमबहादुर पातली र सुरेन्द्रबहादुर चन्द रवि धानुकले ट्रीगार्ड भत्काएको ठाउँमा पुगेको उनले बताए ।
त्यसपछि झन उग्रभएका धानुकले आफूहरू माथि आक्रमण गरेको घाइते चन्दले बताए । धानुकले नगर प्रहरी जवान चन्दको दाहिने हातको माझी औंला र वडा अध्यक्ष ऐरको बायाँ हातको माझी औंला टोकेको बताइएको छ । वडा अध्यक्ष ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा धानुक नगर प्रहरी, नेपाल प्रहरी र आफूमाथि जाई लागेको बताए ।
धानुकले इटा, ढुङ्गा जे भेट्यो त्यहीँले हिर्काउने र तथानाम गाली गलौज गरेको वडा अध्यक्ष ऐरले बताए । धानुकले वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण गरेपछि घटनास्थलमा पुगेको चटकपुर अस्थायी प्रहरी पोष्टको टोलीले धानुकलाई नियन्त्रणमा लिएको उनले बताए । घाइते नगर प्रहरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताईएको छ ।