भदौ १६ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढी मार्फत निर्माण गरिएको सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो ।
दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना क्षमताको कार्यक्रम कक्ष, एक सय सवारी साधन अटाउने क्षमताको पार्किङ निर्माण गरिएको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिए । सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको उनले बताए ।
विसं २०७५ साल माघ देखि निर्माण सुरु भएको सभागृह २०७९ असारमा निर्माण सम्पन्न भएको उनले जानकारी गराए । निर्माण कम्पनी ‘विकेओआई एमके रोयल’ जेभीले सभागृह निर्माण गरेको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी कलौनीले बताए । धनगढी उपमहानगरले उपलब्ध गराएको एक बिघा जग्गामा निर्माण भएको उक्त सभागृहमा रङरोगन, विद्युत् जडान लगायत काम भइसकेको उनले जानकारी गराए ।
धनगढीमा हुने सभा, गोष्ठी, बैठक सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने उद्देश्यले बनेको उक्त सभागृह सञ्चालनमा आउन नसक्दा सरकारी कार्यालयले त्यस्ता कार्यक्रम होटल, पार्टीप्यालेसमा महँगो भाडा तिरेर सञ्चालन गरिरहेका छन् ।