भदौ १६ धनगढी । कैलाली जनपुस्तकालय धनगढीले प्रतिभाहरूलाई सम्मान गरेको छ । शनिवार कैलाली जनपुस्तकालय धनगढीले १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक समारोहमा विभिन्न प्रतिभाहरूलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको हो ।
कैलाली जनपुस्तकालय पुरस्कार २०८१ बाट सह प्रा. सीताराम भट्टलाई, जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट कवि निर्मल कुमार भण्डारीलाई, विष्णु नर्मदा राष्ट्रिय साहित्य प्रतिभा पुरस्कारबाट साहित्यकार तुलसी प्रसाद पण्डितलाई, भोजराज –हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कारबाट मदन चन्दलाई र चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार २०८० बाट समाजसेवी तथा पूर्व राज्यमन्त्री टेकबहादुर रैकालाई पुष्तकालयले सम्मान गरेको हो ।
त्यसैगरी द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मानबाट समाजसेवी तथा प्रदेश सभा सदस्य तुलसी देवकोटा, बिपी कोइराला स्मृति राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट वरिष्ठ चिकित्सक डा. बिदुरमणि ढकाल,बद्रीनाथ राष्ट्रिय शैक्षिक साधना सम्मानबाट शिक्षा सेवी प्रेमराज भट्ट, कैलाली जनपुस्तकालय नियमित पाठक सम्मानबाट तीर्थराज ओझा गडसेरी माइलालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख आतिथी तथा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय नजिर मियाँले सम्मानीत सबैजनालाई दोसल्ला, माला, टिका र पुरस्कारबाट सम्मान गरेका थिए । कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा. टीएन जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।