भदौ १४ बैतडी । बैतडीमा झडप हुँदा नेपाली सेनामा कार्यरत नरेन्द्र बिष्ट सहित दुई जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका वडा नम्बर–४ लटैनाथ मन्दिरमा लागेको गौरा पर्वको मेलामा झडप हुँदा दोगडाकेदार गाउँपालिका वडा नम्बर–४ श्रीकेदार घर भइ गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना घाइते भएका हुन् ।
मेलामा बिहिवार बेलुका झडप हुँदा सेनामा कार्यरत बिष्टको टाउकोमा चोट लागेको हो । उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष तर्कराज भट्टले जानकारी गराए । त्यसैगरी सुरजको मुखमा चोट लागेको जानकारी गराउदै उनले दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी पठाउने तयारी भएको वडा अध्यक्ष भट्टले जानकारी गराए । तयसैगरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर–५ गोबडाका किरन चन्द, रोशन चन्द र सञ्जय चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा राखिएको उनले जानकारी गराए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी गराए ।