भदौ १४ धनगढी । आचार्य कृष्ण दमाईंलाई स्थानीय सरकारको सम्मान थाप्न भ्याइ नभ्याइ भएको छ । सामाजिक विभेदसँग लड्दै संस्कृतमा आचार्य उत्तीर्ण गरेका उनलाई सुदूरपश्चिम पदेशका विभिन्न स्थानीय तहले सम्मान गरेका छन ।
धनगढी उपमहानगरपालिकाले आचार्य दमाईंलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगरप्रमुख गोपाल हमालले आचार्य दमाईंलाई आवश्यकता अनुसारको रोजगारी दिने घोषणा समेत गरेका थिए । त्यसैगरी उनलाई दलित मुक्ति अभियानले समेत धनगढीमा सम्मान गरेको थियो ।
बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले पनि नगद सहित दोसल्ला ओढाएर उनलाई सम्मान गरेको छ । उनलाई विभिन्न दलित संस्थाले पनि सम्मान गरेका छन । आचार्य कृष्ण दमाईलाई काठमाडौँको पशुपतिमा आयोजित १०८ श्रीमद्भागवत विश्व कल्याण ज्ञान महायज्ञमा सम्मान गरिएको थियो ।
पशुपतिमा प्रवचन दिए पछि आफूलाई सबैले चिन्ने अवसर पाएको र सुदूरपश्चिम फर्के पछि स्थानीय तहका जनप्रतिधि तथा दलित सम्बद्ध सङ्घ संस्थाबाट सम्मानको ओइरो लागेको उनले बताए । मलाई पनि लाग्थ्यो, संस्कृत पढेर वेद पुराण पढ्न त सकिएला तर जीवन धान्न सम्भव छैन तर आज सबैतिरबाट न्यानो सद्भाव पाउँदा खुसी लागेको छ,उनले भनेका छन ।