भदौ १३ धनगढी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले सडक हस्तान्तरण गरिएको छ । साउनको अन्तिम साता ठेकेदार कम्पनीले उक्त सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरेको हो । योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले उक्त सडक खण्ड अन्तर्गत १३ दशमलव चार किलोमिटर सडक कालोपत्रको काम सम्पन्न भएसँगै ट्राफिक संकेत अन्तर्गत जेब्राक्रसिङ, सडक बोर्ड मार्किङ राख्ने लगायत सबै काम मापदण्ड अनुसार सम्पन्न भएकाले ठेकेदार कम्पनीले साउनमै आयोजना कार्यालयलाई सडक हस्तान्तरण गरेको बताए ।
आर्थिक वर्ष २०७९÷८० मा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न नसकेको बताउदै उनले सडक निर्माणका लागि आर्थिक बर्ष २०८०÷८१ मा संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि सडक कालोपत्र सुरु गरिएको जानकारी गराए । धनगढी–स्याउले–हाट खोली जाने बाटोसम्म १३ दशमलव चार किमी सडक कालोपत्रको काम गत असारमा सम्पन्न भइसकेको उनले बताए ।
धनगढी–स्याउले सडक खण्ड १३ दशमलव चार र दिपायलको तिखा–मेल्लेख सडक खण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले जानकारी गराए । धनगढी–स्याउले सडकमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ सालमा पीपल चौताराबाट स्याउले महेन्द्र राजमार्ग भन्दा तीन किमी अगाडि १३ दशमलव चार किलोमिटरमा कालोपत्र गर्न १६ करोड ४० लाखमा ठेक्का भएको उनले बताए ।
आयोजना कार्यालयले दिएको जानकारी अनुसार चार खण्डमा सडक निर्माण हुँदै गरेकोमा धनगढी–स्याउले सडकमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडक खण्डमा काम भईरहेको छ । डोटीको दिपायल तिखा–मेल्लेख सडक खण्डको १५ किमी सडक कालोपत्रको काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गरिरहेको बताईएको छ ।
विसं २०७८ सालमा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अघि बढ्न नसकेको बताईएको छ । विसं २०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको योजना कार्यालयका इन्जिनियर रैखोलाले बताए ।
त्यसबेला खुटिया देखि दिपायल सम्म ८२ किलोमिटर सडक सर्भे भएकोमा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढी सम्मको १० किमी सडक थपेर ९२ किलोमिटर कायम गरिएको उनले जानकारी गराए । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्ट ट्रयाक’ छोटो दूरी लगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको उनले जानकारी गराए ।