असार ११ कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका स्तानीय बासीले चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ? भनेर प्रश्न गरेका छन । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई यस्तो प्रश्न गरेका हुन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई स्थानीयवासीले चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ? भनेर प्रश्न गरेका हुन । उनीहरुले लामो समयदेखि ओझेलमा परेको बेलौरी छोटी भन्सार स्तरोन्नतीको माग समेत गरेका छन ।
स्थानीय नागरिक केशवराज जोशीले प्रतिनिधिसभा सदस्य देखि नगरप्रमुख सम्मलाई ४० वर्षदेखि नबनेको सडकका विषयमा पटक–पटक आग्रह गर्दा पनि अझै कलुवापुर–बेलौरी सडक खण्ड कालोपत्र नभएको गुनासो गरे । बेलौरी छोटी भन्सारको जग्गामा भएको झाडी सरसफाइ गर्दा वन मुद्दा खेप्नुपरेको पीडा पनि उनले सुनाए ।
सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको बताउदै उनले २०१९ सालमा स्थापना भएको छोटी भन्सार कैलाली भन्सार मातहत राखेर सञ्चालनमा ल्याइए पनि प्रधानमन्त्रीस्तर सम्म उक्त विषय उठान गर्दा आश्वासन बाहेक केही नपाएको बताए ।
जिल्ला सदरमुकाम महेन्द्रनगर जान छोटो पर्ने बेलौरी–कलुवापुर खण्ड चार दशक देखि ठेक्का हुँदै आए पनि अझै कालोपत्र पूरा हुन नसकेको उनले जानकारी गराए । इलाका प्रहरी कार्यालय बेलौरीको संयोजनमा भएको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीय प्रकाशराज पन्तले निर्माणाधीन हुलाकी सडक अन्तर्गत पचुई क्षेत्रमा भारतीय पक्षको अवरोधले कालोपत्र हुन नसकेको बताए ।
पचुई क्षेत्रको कालोपत्र निर्माणमा भारतीय पक्षसित पहल गर्न स्थानीय प्रशासनलाई उनले आग्रह समेत गरेका छन । बेलौरी–कलुवापुर सडक खण्ड अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पनि सडक निर्माणमा बाधा पुर्याएको उनले बताए । त्यसैगरी स्थानीय गोविन्द सापकोटाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, तस्करी नियन्त्रण, लागुऔषध ओसार पसार नियन्त्रण लगायत शान्ति सुरक्षामा प्रहरी प्रशासनले सक्रियता बढाएको बताए ।
बेलौरी छोटी भन्सार व्यवस्थापन गर्न पाए खुला सीमानाकाबाट हुने अवैध गतिविधि पनि एक हदसम्म कम हुने उनले बताए । कञ्चनपुरको पुरानो सदरमुकाम भए पनि हरेक दृष्टिकोणले पछि पारिएको बताउदै उनले पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा उपस्थिति बढाइएकाले सीमा क्षेत्रका नागरिकले सुरक्षाको प्रत्याभूति गर्न पाएको सापकोटाले बताए ।
त्यसैगरी सशस्त्र प्रहरी बल नम्बरं ३५ गणका गणपति खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई राज्यले दिएको कर्तव्य पालना गरिरहेको बताए । सशस्त्र प्रहरी उपरीक्षक चन्दले प्रहरीले कर्तव्य पालना गरेको बताउदै आम नागरिकलाई नभई गलत मनसाय राखेर काम गर्नेहरूका लागि कडाइ गरिएको बताए ।
तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय भएर लागेको बताउदै उनले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण देखि सीमारक्षाका लागि सक्रियता बढएको बताए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले नागरिक प्रहरीको आँखा भएको बताउँदै तस्करी नियन्त्रण तथा लागुऔषध न्यूनीकरणका लागि सबैको भूमिका आवश्यक रहेको बताए ।
प्रहरी कर्मचारीबाट गलत नियतका साथ मुनाफा लिने गरेको प्रमाण दिए कारबाहीको दायरामा ल्याउने बताउदै उनले नेपाल–भारत सीमा क्षेत्रमा हुने हरेक गतिविधिमा प्रहरीले निगरानी बढाउदा स्थानीयको पनि साथ र सहकार्य चाहिएको बताए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी सापकोटाले प्रहरी र नागरिकबीचको सम्बन्ध राम्रो हुनुपर्ने बताए । आपराधिक गतिविधि देखि लागुऔषध नियन्त्रणमा सूचना र समन्वय आवश्यक पर्ने बताउदै उनले कानुनको पालना सबैले गर्नुपर्ने बताए । सरकार अभिभावकसँगै नियमनकर्ता पनि भएको उनले बताए ।
त्यसैगरी लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विक, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैसी लगायतको कार्यक्रम्मा सहभागीता रहेको थियो ।