असार १० धनगढी । सुदूरपश्चिम प्रदेशमा गत वर्ष झण्डै २५ करोड किलोग्राम खोटो संकलन गरिएको छ । विभिन्न वन क्षेत्रबाट संकलन गरिएको खोटो भारत निर्यात हुने गरेको छ । कैलालीको अत्तरियामा रहेको रोजिन एण्ड टर्पेन्टाइन प्रालिले सबैभन्दा बढी खोटो संकलन गर्दै आएको छ ।
पहाडी जिल्लाका वन क्षेत्रबाट संकलन गरिएको खोटो अत्तरिया कम्पनीमा ढूवानी गरेर भारत निर्यात गरिँदै आएको छ । गत वर्ष पहाडी क्षेत्रका वनहरुबाट २५ करोड ८५ लाख ९४ हजार ५ सय ७५ किलोग्राम खोटो संकलन गरिएको छ । वार्षिक ठूलो परिमाणमा सल्लाका रुखबाट खोटो संकलन गरिँदै आए पनि त्यसको उचित व्यवस्थापन भने गर्न सकिएको छैन् ।
खोटो रानी सल्लो र खोटो सल्लोको ‘चोप’ हो । यस्तो सल्लो चुरे र मध्य पहाडमा पाइन्छ । एउटा रूखबाट ८ महिना खोटो निकाल्न सकिन्छ । रूखको बोक्रा ताछेर ‘ग्रुप’ काटिन्छ र कोनिकल सोलीमा खोटो जम्मा गरिन्छ । न्यूनतम एक सातामा सोली भरिए पछि खोटो टिनमा खन्याइन्छ ।
एउटा रूखमा एक एमएमका ३२ वटा गु्रप काटेर खोटो संकलन गर्न मिल्छ । संकलन गरिएको खोटो घाटगद्दी पछि वन कार्यालयसँग प्रमाणित गराएर छुट पुर्जी लिइन्छ । कम्पनीले कारखानामा ढुवानी गर्छन् । खोटो १० प्रतिशत नेपालमा प्रयोग हुन्छ भने ९० प्रतिशत भारत निकासी हुन्छ । कागजलाई चिल्लो पार्न र पेन्ट्स, गम, अगरबत्ती, साबुनमा रोजिन प्रयोग हुन्छ ।
खोटोबाट तेल पनि निस्किन्छ, त्यसलाई टर्पेन्टाइन भनिन्छ । त्यसको प्रयोग पनि पेन्ट्स लगायतमा हुन्छ । डडेलधुरा, डोटी, कैलाली र बैतडीमा दिव्या कम्पनीले खोटो संकलन गर्दै आएको छ । सरकारले २०६३ मा दिव्यालाई डोटी, कैलाली, डडेलधुरा र बैतडीमा खोटो संकलनका ३० वटा प्लट दिने सम्झौता गरेको थियो । यसरी वन क्षेत्रबाट संकलन गरिएको काठ, दाउरा, जडिबुटी र खोटो लगायत वनजन्य उपजहरु विक्री गरी राजस्व प्राप्त गर्नुपर्नेमा ठोस रुपमा उपलब्ध हुन भने सकेको छैन् ।
उल्टै २१ हजार ४ सय १० दशमलव १८ हेक्टर अतिक्रमित वन क्षेत्र हटाउन समेत प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय असफल बन्न पुगेको छ । १७१ दशमलव ८७ हेक्टरमा भएको अतिक्रमण हटाइएको दाबी मन्त्रालयको छ । सुदूरपश्चिमका वन क्षेत्रबाट झण्डै १५ लाख किलोग्राम जडिबुटी समेत संकलन गरिएको छ ।
व्यवस्थित, सामुदायिक र निजी वनबाट गरेर १४ लाख ७१ हजार ९ सय २४ किलोग्राम जडिबुटी संकलन गरिएको हो । तर प्रदेश सरकारले न त व्यवस्थित रुपमा मौज्दात रहेको काठको विक्री गर्न सकेको छ न त जडिबुटीको ।
आफ्नो आन्तरिक आम्दानीको रुपमा वन क्षेत्रलाई भरपुर उपयोग गर्नुपर्नेमा त्यसबाट प्राप्त हुने राजस्व समेत वर्षेनि गुम्दै गएको छ । काठ, दाउरा र जडिबुटीको उचित व्यवस्थापन र उपयोग नहुँदा जंगलमा त्यसै खेर जाने गरेको छ ।