जेठ ३२ धनगढी । कैलालीको गोदावरी नगरपालीकामा सवारीसाधन भाडाको नाम्मा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च गरिएको छ । कार्यालय र नगरप्रमुख बिरेन्द्र भट्टको सवारीसाधन भाडा प्रयोजनमा उक्त रकम खर्च गरिएको हो । २०६९ फागुन देखि २०८० जेठ १७ गते सम्म मात्र कार्यालय र नगरप्रमुखको प्रयोजनका लागि सवारी भाडामा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च गरिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (११) विपरीत उक्त रकम खर्च गरिएको पाइएको छ ।
सरकारी रकम खर्च गर्दा वा कुनै आर्थिक कारोबार गर्दा कार्यालय प्रमुखले सरकारी रकमको हिनामिना हानीनोक्सानी वा लाफरबाही हुन नपाउने गरेर सरकारी सम्पत्ति नगद, जिन्सी सुरक्षित राख्न उचित प्रबन्ध मिलाउनुपर्ने नियमावलीमा उल्लेख गरिएको छ । कार्यालयको सामान्य कामकाजमा जाँदा पनि गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको पाइएको छ ।
एक जना व्यक्ति मात्र सामान्य काममा जानुपर्ने अवस्थामा समेत गाडी भाडामा लिएर राज्यकोषको रकम दुरुपयोग गर्ने काम हुँदै आएको पाईएको छ । कार्यालयबाट हुने प्रायोजसो कार्यक्रम, तालिम, गोष्ठी लगायतमा सहभागि हुन पनि गाडी भाडामा लिने काम भइरहेको पाईएको छ । कार्यालय प्रयोजनको नाममा एक महिनामा ८८ हजार २ सयका दरले गाडी भाडा तिरेर एक वर्षमा १० लाख ५८ हजार चार सय रुपैयाँ खर्च गरिएको छ ।
२०८० जेठ १७ गते नगरप्रमुखको प्रयोजनको लागि भनेर दैनिक ६५ सयका दरले सवारी भाडा तिर्ने गरी २९ हजार २ सय ५० रुपैयाँ खर्च गरिएको छ । २०६९ माघ १० गते नगर प्रमुखको प्रयोजनकै लागि भनेर २९ हजार २५० रुपैयाँ खर्च गरिएको पाईएको छ । सोही वर्षको फागुन १९ गते सोही शिर्षकमा २३ हजार चार सय रुपैयाँ खर्च गरिएको पाइएको छ । २०८० बैशाख १९ गते नगर प्रमुखकै प्रयोजन शिर्षकमा थप ४० हजार ९ सय ५० रुपैयाँ खर्च गरिएको पाईएको छ ।