जेठ २४ बाजुरा । बाजुरामा नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाह्रबिसमा रहेको नेपाल टेलिकमको टावर तोडफोड भएको नेपाल दुरसञ्चार शाखा बाजुराले जनाएको हो ।
टावर करिब एक महिना पहिले तोडफोड भएको हुन सक्ने भए पनि जेठ २२ गते दुरसञ्चारको टोली टावर भएको स्थानमा पुगेपछि मात्रै थाहा भएको दुरसञ्चार बाजुराका प्रमुख लोक बहादुर खड्काले बताएका छन् । उनका अनुसार २०७९ मा पनि टावर तोडफोड गर्दा दुरसञ्चार प्राधिकरणले सोलार पाता थपेर नियमित सुचारु गरेको भए पनि पुनः पूर्ण रुपमा ध्वस्त बनाईएको उनले बताए ।
टावर तोडफोड गर्दा टावर माथिका एन्टिना बाहेक अन्य कुनै उपकरण नभएको उनले बताए । टावरको तोडफोडबाट चार्जिङमा राखिएका सोलार प्यानल, ब्याट्री, जक्सन बक्स, सोलार चार्जर, टु जी, फोर जी कम्पिलिट, कन्ट्रोल बक्स, पावर केवल लगायतका लाखौं मूल्य बराबरका उपकरणमा क्षति भएको उनले जानकारी गराए ।
मोवाइल टावर पूर्ण रुपमा तोडफोड भएपछि सञ्चार सेवा प्रभावित भएको छ । घटनाको ढिला जानकारी दिइए पछि टावर तोडफोडमा संलग्न व्यक्तिहरुको खोजी कार्यका लागि बिहिबार बिहानै प्रहरीको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् ।