जेठ २० बैतडी । दोगडाकेदार गाउँपालिकाले छ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेकोे छ । गाउँपालिकालाई आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखेको गाउँपालmीकाले वडा नम्बर १ रिम र वडा नम्बर २ कमलपुर बाहेकका सबै वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले गाउँपालिकाले बनाएको कार्यविधि अनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, नियमित रूपमा चार पटक गर्भ जाँच गराएको, सरकारको मापदण्ड अनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की, जुका औषधि खाएको, पौष्टिक आहारका लागि परामर्श गरेको, एचआइभी जाँच गरेको लगायत मापदण्ड अनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको जानकारी गराए ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले यो क्षेत्रमा बजेटको पनि विशेष व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए । आमा र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताईन । गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी गराए ।