जेठ २० धनगढी । साँफे–मार्तडी सडकको बल्दे–अम्कोटमा अनुगमन गरिएको छ । सरोकारवाला निकायले शनिबार उक्त सडकको अनुगमन गरेको हो । बल्दे–अम्कोट सडक बर्षाका बेला सधैँ अवरुद्ध हुने गरेकाले यस वर्ष यातायात सेवा नियमित गर्ने उद्देश्यले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी गराएको हो ।
बर्षातको समय पानी पर्नेबित्तिकै सडक भत्किने गरेकाले त्यसको समाधान गर्न र यातायात सेवा नियमित गर्न सडक अनुगमन गरिएको बताईएको छ । बुढीगङगा नगरपालिका वडा नम्बर–२ का यातायात व्यवसायी वीरबहादुर थापाले सडकलाई सञ्चालन गर्न सकिन्छ वा विकल्पका रूपमा सडक सञ्चालन गर्ने विषयमा छलफल गरिएको बताए । बर्षा लागेसँगै मनसुन सुरु हुनु अगावै सडक अवरुद्ध हुने गरेकाले त्यसको विकल्प खोज्न अनुगमन गरिएको उनले बताए ।
गत वर्ष लामो समयसम्म सडक अवरुद्ध हुँदा व्यापारीले सामान भरिया मार्फत ढुवानी गर्न बाध्य भएको उनले बताए । गत वर्ष असार देखि भदौसम्म अवरुद्ध सडक हिउँदमा केही दिनमा गाडी सञ्चालन भए पनि बर्षातमा फेरि उस्तै हुने गरेको छ । हिउँदका केही दिन बस, ट्रक, जिप र ट्याक्टर मार्तडी देखि कोल्टीसम्म सञ्चालन हुँदै आए पनि बर्षायाम्मा सबै सवारीसाधन बल्देमै रोकिने उनले बताए ।
गाडी सञ्चालन भएको समयमा सस्तो र सुलभ रूपमा सामान खरिद गर्दै आएका स्थानीयवासीलाई बर्र्षाको समय सधैँ चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । बर्षातको समयमा बल्दे–अम्कोट सडकको मुनि र माथिबाट एकैसाथ पहिरो बग्ने गरेकाले मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । सडकलाई नियमित सञ्चालन गर्ने उद्देश्यले स्थलगत सडक अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी गराएका छन ।