जेठ २० धनगढी । कैलालीको गोदावरी नगरपालिका भित्र कार्यरत १ सय १२ जना शिक्षकहरूलाई नगर शिक्षकको नियुक्ति दिइने भएको छ । नगर शिक्षकको रूपमा अनुदान प्राप्त शिक्षकलाई झन्डै ३ वर्ष पछि नगर शिक्षकको नियुक्ति दिईने भएको हो । गोदावरी नगरपालिकाले २०७८ फागुनमा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका १ सय ४३ जना शिक्षकहरूलाई नगर शिक्षकमा रूपान्तरण गरेको थियो ।
नगर शिक्षकमा रूपान्तरण भएका शिक्षकले नियुक्ति पत्र भने पाएका थिएनन् । जसका कारण शिक्षकहरूले विगत लामो समय देखि नियुक्ति पत्रसँगै सेवा सुविधामा समानता ल्याउन माग गर्दै विरोधका कार्यक्रम गर्दै आएका थिए । हाल गोदावरी नगरपालिकाले आन्तरिक परीक्षा सञ्चालन गरेर नगर शिक्षकको नियुक्ति दिन लागेको हो ।
नगरपालिकाले आन्तरिक परीक्षाका लागि वैशाख ५ गते सूचना प्रकाशन गरेको थियो । जसमा १ सय १९ जनाले आवेदन दिएकोमा १ सय १२ जना परीक्षामा सहभागी हुन पाएका थिए । परीक्षामा सहभागी भएका सबै उत्तीर्ण भएको नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले जानकारी गराए । उनले उत्तीर्ण भएका सबै शिक्षकलाई नगरपालिकाको सिफारिसमा सम्बन्धित विद्यालयबाट नियुक्ति पत्र दिइने बताए ।
नगरपालिकाले सञ्चालन गरेको आन्तरिक परीक्षामा मावि तहमा २५ जना, निमावि तहमा ४२ जना र प्रावि तहमा ४५ जना शिक्षक सहभागी भएका थिए । २०७८ सालमा १ सय ४३ जना नगर शिक्षक भए पनि केहीले शिक्षक शिक्षा सेवा पास गरेका थिए भने केहीले विभिन्न कारणले अवकाश लिइसकेका छन् । तत्कालीन मेयर हरि सिंह साउँदको पालामा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका शिक्षकलाई स्वतः नगर शिक्षकमा रूपान्तरण गरिएको थियो ।
हाल आएर नगर शिक्षकको नियुक्ति दिन प्रक्रिया नपुगेको भन्दै नगरपालिकाले शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८ संशोधन गरेर परीक्षा सञ्चालन गरेको जनाइएको छ । कार्यविधि अनुसार नगरपालिकाले नगर शिक्षक परीक्षा व्यवस्थापन समिति गठन गरेको थियो । नगर शिक्षकलाई नियुक्त गर्न लिखित सँगै अन्तरवार्ता र कक्षा अवलोकन गरिएको जनाइएको छ । नजिता भने नगरपालिकाले एकै पटक प्रकाशन गरेको थियो ।
नगरपालिकाले अनुदान प्राप्त नगर शिक्षकलाई नियुक्ति पत्र दिन प्रक्रिया पु¥याएको भए पनि शिक्षकहरूले उठाउँदै आएको पारिश्रमिकको मुद्दाको विषयमा कुनै निर्णय नभएको शिक्षा शाखा प्रमुख जोशीले बताए । हाल नगर शिक्षकले अनुदानका रूपमा प्राविमा २० हजार, निमाविमा २२ हजार र माविमा २५ हजार पारिश्रमिक नगरपालिकाबाट पाउँदै आएका छन् ।
नगर शिक्षक संघका अध्यक्ष तपराज ओझाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सम्पूर्ण शिक्षकलाई नेपाल सरकारले तोके बमोजिम सेवा सुविधा दिन परिपत्र गरेकाले सोही अनुसार हुनेमा आफूहरू आशावादी रहेको बताए । उनले नगरपालिकाले शिक्षा मन्त्रालयको परिपत्र अनुसार नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।