जेठ २० डेडेल्धुरा । समैजी विमानस्थल निर्माणका लागि यस पटक पनि बजेट नछुट्याएको प्रति स्थानीयले गुनासो गरेका छन । तीन पटक प्रारम्भिक अध्ययन गरेर पनि बजेट नदिएको भन्दै स्थानीयले गुनासो गरेका हुन । उक्त विमानस्थल निर्माण गर्न चार अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको छ । अजयमेरु गाउँपालिका वडा नम्बर–१, पुइलेकमा विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणको अध्ययन पछि वातावरणीय प्रभाव मूल्याङ्कन इआइए थालिएको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा विमानस्थल छैन भन्ने आवाज उठेपछि २०७९ सालको चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले विमानस्थल निर्माण गर्ने बताएका थिए । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा समैजी विमानस्थल निर्माणको विषय उल्लेख नगरिए पछि स्थानीय आक्रोसित भएका छन । प्रारम्भिक अध्ययन पछि विमानस्थल निर्माण हुने अपेक्षा गरेकोमा बजेट नपर्दा स्थानीय आक्रोशित भएका हुन ।
प्रदेश सभा सदस्य डाः तारा जोशीले राजनीतिक दाउपेचका कारण विमानस्थल निर्माणका लागि बजेट नपरेको आरोप लगाए । विमानस्थल निर्माणका लागि परियोजना विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पारिएको बताउदै उनले उक्त क्षेत्रमा एक हजार पाँच सयदेखि एक हजार सात सय मिटर लम्बाइको धावनमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको जानकारी गराए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ सालमा पाँच करोड रुपियाँ विनियोजन गरेको समेत उनले जानकारी गराए । विमानस्थल निर्माणका लागि अग्लो भूभाग धेरै कटान गर्नुपर्ने देखिएको बताउदै उनले विमानस्थलको चौडाइ भने १५० मिटरको हुने अध्ययनले देखाएको जानकारी गराए ।