जेठ १५ धनगढी । एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० असार ७ गते आयोजना हुने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने पाँचौँ संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० असार ७ गते हुने घोषणा गरिएको हो ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पाँचौँ संस्करणको अवार्डको मिति घोषणा गरेको हो । पाँचौँ संस्करणको सपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने बताईएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
त्यसैगरी सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताईएको छ । पाँचौँ एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० लाई सुदूर पश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन सम्बन्धी सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक बिच सम्झौता भएको बताईएको छ । सह प्रायोजकहरूको खोजी गरिने आयोजकले जनाएको छ ।