जेठ १५ धनगढी । १७ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समितिले धनगढीमा विविध कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको हो ।
विहान धनगढीको शहिद गेटबाट सुरु भएको प्रभातफेरी कार्यक्रम राष्ट्र बैंक चोक हुँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा पुगी समारोहमा परिणत भएको थियो । मूल समारोह कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्र सबै भन्दा उत्तम व्यवस्था भएको बताए ।
उनले योग्यता, क्षमता र सीपका आधारमा शासन व्यवस्था चलाउनु पर्छ भन्ने मान्यता बाकेको यो व्यवस्था संसारकै उच्चतम व्यवस्था भएको बताए । उनले गणतन्त्रात्मक शासन व्यवस्थाले सामान्य मान्छे पनि मुलुकको राष्ट्र प्रमुख हुन सक्छ भन्ने सन्देश दिएको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ,प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।