जेठ ०८ डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–७ मलासका स्थानीइलाई आफ्ना उत्पादन बेच्न ६ घण्टाको पैदल यात्रा हिड्नु पर्ने बाध्यता रहेको छ । उनीहरुले कुलुम र अम्रिसोको झाडु बिक्री गर्न ६ घण्टाको पैदल यात्रा हिड्नु पर्ने बाध्यता रहेको हो । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–८ स्थित रौटेलामा भेटिएकी ४९ वर्षीया कृष्णा जोशीले डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि महेन्द्रनगर आएको बताईन ।
सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य समान किनेर घर फर्किने बताउदै उनले कुलुम र झाडु बिक्री गरेर दुई हजार कमाएको बताईन । त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किदैँ गरेको बताउदै उनले गाउँमा खानेपानीको सुविधा पनि नभएको बताईन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्ने बताउदै उनले यतैबाट पानी भरेर लिएको बताईन । उनले कुलुम प्रतिकिलोग्राम ८० देखि एक सयका दरले बिक्री हुने गरेको बताउदै अम्रिसोबाट तयार गरिएको झाडु ६० का दरले बिक्री हुने गरेको बताईन । सडक सञ्जालसँग नजोडिँएको मलासबाट महेन्द्रनगरसम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा हिड्नु पर्ने बाध्यता रहेको उनले बताईन ।
भौगोलिकरूपले विकट मलासका स्थानीय केरा, आँप, काफल, नासपाती लगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गरेको उनले सुनाईन । खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका लागि ठूला पसल पनि नभएकाले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताईन । गाडी चल्ने बाटो छैन । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नु पर्छ, उनले भनिन ।
सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्षमात्रै चलेको बताउदै उनले अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता रहेको बताईन । परशुराम नगरपालिकको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगरले बताए ।
जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्र नगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गरेको उनले बताए । गाउँनजिक बैंक छैन । जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ । त्यसैले पायक पर्ने महेन्द्रनगरबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको छ उनले भने । बसोबास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न नपाएको बताउदै उनले अभावै अभावमा जीवन गुजार्नु परेको बताए ।