जेठ ०७ कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य पुरा हुन नसकेको हो । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग तीन वर्षअघि १३ करोड बढी रकममा ठेक्का सम्झौता भएको थियो । सडक खण्डको बन्साहा जङ्गलबाट कलुवापुर सम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण र चानदेवबाट कालागौडी सम्मको तीन किमी सडक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण कालोपत्र हुन सकेको छैन ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार बन्साहा जङ्गलबाट कलुवापुर सम्मको आठ सय मिटरमा कालोपत्रका लागि बेस राख्ने काम गरिएको छ । बाँकीमा सब बेस राख्ने काम गरिएको छ । कार्यालयका तर्फबाट सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीलाई ताकेता गर्ने कार्य हुँदै आएको उनले बताए । जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन नसकेको बताउदै उनले ढिलासुस्ती गरिँदै आएकाले कार्यप्रति सन्तोष हुनुपर्ने अवस्था नभएको बताए ।
कलुवापुर बजार क्षेत्रमा सडकको क्षेत्राधिकारबारे विवाद हुँदा काम हुन नसकेको बताउदै उनले हाल ह्मपाइप राख्ने काम भइरहेको बताए । सडक क्षेत्रको एकातर्फको ह्मपाइप राख्नका लागि बेस राख्ने काम पूरा भएको बताउदै उनले अर्कोतर्फको बेस राख्नका लागि काम अगाडि बढेको बताए । कलुवापुर देखि उत्तरतर्फ बेलडाँडी सम्मको चार किमी सडकमा ग्राभेल राख्ने काम भइरहेको उनले जानकारी गराए । उननले निर्माण व्यवसायीलाई ठेक्का सम्झौता भएको रकम मध्ये चार करोड ५० लाख रकम भुक्तानी भइसकेको बताए ।
बन्साहा कलुवापुर बेलडाँडी दोमिल्ला सम्मको सडक नौ किमी रहेको बताउदै उनले यस सडकलाई बंक नायल सडकसँग जोडने पूर्वाधार विकास कार्यालयको योजना रहेको बताए । सडक कालोपत्रका लागि सन्तोषी–थेगिम जेभीसँग २०७८ साउन २० गते सम्झौता भएको उनले बताए । स्थानीय अतुलबहादुर ऐरले निर्माण व्यवसायीले काम समयमै पूरा नगर्दा समस्या भएको बताए ।
निर्धारित समयमा सडक कालोपत्रको काम हुन नसकेको बताउदै उनले निर्माण व्यवसायीले ठेक्काको म्याद थप्दै जाने गर्र्दा सडक कालोपत्रको कामले गति लिन नसकेको बताए । सडक कालोपत्र को माग गर्दै स्थानीय बासिन्दाले पटकपटक आन्दोलन गर्दै आएको उनले बताए ।