धनगढी । एमाले र माओवादीका काण सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाई भएको छ । विश्वासको मत लिए लगत्तै सरकारलाई पूर्णता दिनु पर्ने भए पनि एमाले र माओवादी पार्टीले समयमै निर्णय नगर्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाई भएको हो । जेठ ३ गते विश्वासको मत लिएका मुख्यमन्त्री सोडारीले सरकार विस्तारका लागी प्रयास गरीरहेका भए पनि सरकारले पूर्णता पाउन सकेको छैन । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले केन्द्रमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पछि मात्रै प्रदेश सरकारले पूर्णता पाउने बताएका छन ।
उपनेता रावलले एमाले र माओवादीको ठोस निर्णय आउन बाँकी रहेकाले सरकार विस्तारमा ढिलाई भएको बताए । उनले प्रधान मन्त्रीले विश्वासको मत लिईसकेकाले केन्द्रबाट निर्णय आउने वितीकै सरकार विस्तार हुने बताए । एमाले सुदूरपश्चिम संसदीय दलकी उपनेता सन्तोष कुमारी शर्माले सरकारलाई पूर्णता दिनेबारे अझै छलफल नभएको बताइन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको बेला भएकोले आफूहरूले छिटै पूर्णता दिन खोजेको बताउदै उनले केन्द्रको निर्देशन पर्खिरहेको बताईन । माओवादीको सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कल रावलले पनि केन्द्रको निर्देशन पर्खिरहेको बताए ।
त्यसैगरी भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरिएको बताइएको छ । तीन वटा मन्त्रालय फुटाउने गरी छलफल चले पनि तत्काल भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाइने बताईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउन सुझाव आएका भए पनि तत्काल भौतिक पूर्वाधार विकास मन्त्रालय मात्रै फुटाउने गरी सत्ता गठबन्धनमा एक चरणको सहमति बनेको समाजवादीका उपनेता रावलले बताए । कसको कति माग हो, त्यो आए पछि टुङगो लाग्ने बताउदै उनले पहिलो चरणमा भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारी रहेको बताए ।
प्रदेश सरकारको बजेटको दृष्टिकोणले पनि आधा भन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहने भएकाले उक्त मन्त्रालय फुटाउने सहमति भएको उनले बताए । मन्त्रालय फुटाएर ५ जना मन्त्री नियुक्त हुने बताउदै उनले एमाले, माओवादी र स्वतन्त्र सांसद डाः तारा जोशीलाई मन्त्री बनाइने तयारी भएको बताईएको छ । यसअघि मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् । हालसम्म सरकारमा जाने ठोस निर्णय गर्न नसकेको माओवादी र एमालेभित्र मन्त्री बन्नेहरुको दौडधुप बढेको बताईन्छ । नेकपा एमालेले अर्थमन्त्री र आन्तरिक मामिला मन्त्रालय दाबी गरेको छ ।
माओवादी केन्द्रले भने यसअघि नै एक पटक सम्हालिसकेको सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउनु पर्ने दाबी गरिरहेको छ । मुख्यमन्त्री सोडारी मन्त्रालयहरू फुटाएर भए पनि आफ्नो नेतृत्वलाई सुरक्षित गर्ने पक्षमा रहेका छन । मुख्यमन्त्री सोडारीले उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई जिम्मेवारी दिइएको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने गृहकार्य गरेको बताईएको छ । तर मन्त्री चौधरीले आफूसँग छलफल नभएको प्रतिक्रिया दिएका छन् ।
नेकपा एमालेका तर्फबाट बैतडीका सुरेन्द्र पाल, कञ्चनपुरका बीर बहादुर थापा र डोटीका चक्र मल्ल मन्त्री हुने दौडधुपमा छन् । माओवादी केन्द्रका तर्फबाट मन्त्री हुनेको सूचीमा झपट साउद र रमेश धामी छन् । अक्कल रावल, ओम विक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विक पनि मन्त्री बन्ने आकांक्षी छन् । यसअघि राज्यमन्त्री हुँदा पनि जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट देखिएकी गीतादेवी माल पनि मन्त्री बन्ने दौडमा रहेकी छिन् ।