जेठ ०६ धनगढी । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो ।
जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर रजौरेले विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषण पछि घिमिरेको हत्यामा संलग्न नाबालक सहित ७ जनालाई पक्राउ गरेको जानकारी गराए । उनका अनुसार भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालकलाई पक्राउ गरिएको हो ।
उनीहरू सबै लागुऔषध प्रयोगकर्ता भएको उनले जानकारी गराए । गएको शुक्रबार तारकेश्वर नगरपालिका वडा नम्बर—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत अबश्थामा भेटिएको जानकारी गराउदै उनले त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएको बताए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार राति सम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको जानकारी गराउदै उनले बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जानकारी गराए । प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ गरिएका परियारसँग चिनजान भएको थियो । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।