जेठ ०६ डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्य विगत तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७९÷८० को असारमा काम सम्पन्न गर्ने गरी छ करोड रुपियाँको लागतमा ठेक्का गरिएको भवन निर्माणको काम अलपत्र परेको हो । ठेकेदारको लापर्बाहीका कारण भवन निर्माणको काम अलपत्र परेको गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले जानकारी गराए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा भवन निर्माण सुरु गरिएको उनले जानकारी गराए । भवन निर्माणका लागि आर्थिक बर्ष २०७६÷७७ मा स्वर्गद्वारी ड्रागन जेभी कन्ट्रक्स्नसँग चार करोड ७४ लाख रुपियाँ बराबरमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको उनले जानकारी गराए ।
निर्माण व्यवसायीले अलिअलि काम गर्ने र भुक्तानी लिँदै जाने गरेका कारण निर्माणको काम अधुरै रहेको उनले जानकारी गराए । भवन निर्माणको करिब ८० प्रतिशत काम सकिए पनि २० प्रतिशत काम बाँकी रहेको बताउदै उनले झ्याल, ढोका, शौचालय, विद्युत् जडानका काम बाँकी रहेको बताए ।
उनले ठेकेदारलाई घचघच्याउँदा थोरै कामदार ल्याएर केही काम गर्ने, भएको कामको भुक्तानी माग्ने त्यसपछि फेरि हराउने गरेको बताए । गाउँपालिकाले प्रशासनीक कामकारबाही अस्थायी घरटहराबाट गर्दै आइरहेको उनले बताए । वडा नंम्बर २ को जमिनमा रहेको अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आइरहेको बताउदै उनले सेवाग्राहीको भिड लाग्दा बाहिर घाम, पानीमा कुराउनु पर्ने बाध्यता रहेको बताए ।