जेठ ०६ दार्चुला । दार्चुलाको उत्तरी नाका तिङ्करमा नेपाल प्रहरी खटिएको छ । व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने उत्तरी नाका तिङ्करमा प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली खटिएको हो ।
भारतीय बाटो हुँदै खाद्य सामग्री सहित टोली बिहीवार तिङ्कर नाकातर्फ पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।
नेपालको भूमि भएर तिङ्कर पुग्न पाँच दिन लाग्ने भए पछि सुरक्षाकर्मीको टोली भारतीय बाटो हुँदै तिङ्कर गएको हो । छायालेक प्रहरीले तिङ्कर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भने गएको हप्ता तिङ्कर गईसकेको बताईएको छ ।
गत वर्षदेखि सशस्त्र प्रहरी तिङ्करको छालालेकमा बस्न शुरु गरेको हो । अहिले सशस्त्र प्रहरीका खगेन्द्र ओझाको कमाण्डमा टोली छायालेकमा बसेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्तले जानकारी गराएका छन ।