जेठ ०५ धनगढी । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर १ सय ४५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी १ सय १५ जना पुरुष, २० जना महिला र १० जना बाल–बालिका गरी १ सय ४५ जनाको मृत्यु भएको हो । उक्त अवधिमा ३ सय ३८ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
जसमा १ सय ७५ वटा मोटरसाइकल, ४४ वटा जिप–कार, ३२ वटा ट्रयाक्टर, १८ वटा बस, १८ वटा साइकल, रिक्सा, १६ वटा टेम्पो, १४ वटा ट्रक–ट्याङ्कर, सात वटा टिपर, ७ वटा माइक्रो, ३ वटा डोजर र चार वटा अन्य दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जानकारी गराएको हो ।
गत आर्थिक वर्षमा २ सय ५५ वटा सवारी दुर्घटनामा परी १ सय ७७ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जानकारी गराएको छ । त्यसैगरी ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ४ करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको जानकारी गराएको छ ।
उक्त अवधिमा प्रदेशभरि ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार ९ सय ३१ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीको तथ्याङ्कल े देखाएको छ । गत आर्थिक वर्षमा १ लाख १२ हजार ६ सय ५५ वटा सवारीसाधनका चालकलाई कारवाही गरी ६ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जानकारी गराएको छ ।