जेठ ०२ कञ्चनपुर । राउण्ड टेबल नेपालले आर्थिक अवस्था कमजोर भएका २ सय २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राउण्ड टेबल नेपालले कञ्चनपुरका तीन वटा विद्यालयका २ सय २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हो । उक्त संस्थाले पशुपति शिक्षा मन्दिर बेलौरीका १ सय २१ जना, पशुपति शिक्षा मन्दिर अम्मर बस्तीमा ६८ जना, लाल झाडीको पशुपति शिक्षा मन्दिर नौरगांमा ३५ जना गरी २ सय २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । १ जनाको वार्षिक सात हजारका दरले शुपति शिक्षा मन्दिर बेलौरीका १ सय २१ जनाको ८ लाख ४७ हजार रुपैयाँको चेक राउण्ड टेबल नेपालले विद्यालयलाई बुझाएको छ ।
त्यसैगरी पशुपति शिक्षा मन्दिर अम्मर बस्ती ६८ जना विद्यार्थीको ४ लाख ७६ हजार र लाल झाडीको पशुपति शिक्षा मन्दिर नौरगांका ३५ जना विद्यार्थीको २ लाख ४५ हजार रुपैयाँको चेक धनगढी–अत्तरिया राउण्ड टेबलका अध्यक्ष आदित्य अग्रवाल, संस्थापक अध्यक्ष राहुल वंशज, उपाध्यक्ष गौरव अग्रवाल, कोषाध्यक्ष आयुष अग्रवाल र सचिव राज वंशजले हस्तान्तरण गरेका छन् । धनगढी–अत्तरिया राउण्ड टेबलका संस्थापक अध्यक्ष राहुल वंशजले कुनै पनि बाल–बालिकाले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षाबाट वञ्चित हुन नपरोस भनेर छात्रवृत्ति प्रदान गरिएको बताए ।
राम्रो विद्यालय भवन भएर मात्र राम्रो शिक्षा प्रदान गर्न नसकिने बताउदै उनले यसका लागि विद्यालय भित्र हुनु पर्ने सम्पूर्ण संयन्त्र भवन, शैक्षिक सामाग्री, स्वच्छ खानेपानी अनुशासित विद्यार्थी र जागरूक शिक्षक हुनु पर्ने बताए । वंशजले छात्रवृत्ति प्रदान गरेका विद्यालयले विद्यार्थीको शैक्षिक अवस्थामा वृद्धि विकास गरे आगामी दिनमा पनि राउण्ड टेबलले सहयोग गर्ने बताए । छात्रवृत्ति प्राप्त गरेपछि विद्यालयका शिक्षक र अभिभावकहरू खुसी भएका छन् । पशुपति शिक्षा मन्दिर नौरगांकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती रानाले छात्रवृत्ति प्रदान गरेकोमा खुसी व्यक्त गर्दै विद्यालयको वृद्धि विकासका लागि आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताइन ।
सरकारले आफ्ना नागरिकका लागि अनिवार्य गर्नु पर्ने काम संस्थाले गरिदिएको उनले बताईन । लाल झाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले राउण्ड टेवल नेपाललाई धन्यवाद दिदै बदलिँदो समयमा शिक्षा, स्वास्थ्यलाई आधारभूत आवश्यकतामा राखिए पनि सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको बताए । उनले राज्यले आफ्ना नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्न नसकेको बताउदै उनले राउण्ड टेवल जस्ता विभिन्न संस्थाहरूले गरी रहेको बताए । राउण्ड टेवल अन्तर्राष्ट्रिय संगठन भएको जानकारी गराउदै अध्यक्ष आदित्य अग्रवालले नेपालमा हाल यसका ५ सय ५० भन्दा बढी सदस्यहरू रहेको जानकारी गराए ।
दशे भरी संस्थाले काम गरी रहेको जानकारी गराउदै उनले बाल–बालिकाको शिक्षाका क्षेत्रमा काम गर्दै आएको बताए । संस्थाले विद्यार्थीलाई प्रदान गरिएको शिक्षाको गुणस्तर सुधारका साथै विद्यालयको पूर्वाधारको गुणस्तरमा विशेष जोड दिने गरेको बताउदै उनले जसका लागी संस्थाले “राउण्ड टेबल नेपाल मोडेल स्कुल“ को अवधारणा ल्याएको जानकारी गराए ।
६० भन्दा बढी विद्यालयमा ४ सय कक्षा कोठाहरू निर्माण गरेको जानकारी गराउदै अध्यक्ष अग्रवालले पछिल्लो समयमा संस्थाले स्वास्थ्य र वातावरणीय क्षेत्रका साथै सामाजिक कार्यमा पनि काम गरी रहेको जानकारी गराए । परियोजना मार्फत कैलालीमा पशुपति शिक्षा मन्दिर मोती चोक र धनगढी मा विमा पनि शैक्षिक वृद्धि विकासको काम गरिरहेको जानकारी गराउदै उनले राउण्ड टेबलले विद्यालय छनोट गर्ने क्रममा विपन्नता र विद्यालयको अवस्थालाई मध्यनजर गर्दै आएको बताए ।