जेठ ०१ बैतडी । बैतडीका ३ ओटा पालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट २ हजार २ सय ४३ जना नागरिकले सेवा लिएका छन् । वैशाखको अन्तिम साता पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा सञ्चालन गरिएको शल्यक्रिया सहितको आँखा शिविरबाट २ हजार २ सय ४३ जना स्थानीय नागरिकले सेवा लिएका हुन् ।
सम्बन्धित स्थानीय तह र च्यारिटी हेल्थ फाउण्डेसनको आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा तीनओटै पालिकामा सञ्चालन गरिएको शिविरमा २ हजार २ सय ४३ जनाले सेवा लिएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले जानकारी गराए । बैतडीको पुर्चौंडी नगरपालिकामा सञ्चालन गरिएको शिविरमा ८ सय ५ जनाको आँखा परीक्षण गरिएको जानकारी गराउदै उनले १ सय ४३ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको जानकारी गराए ।
त्यसैगरी सुर्नया गाउँपालिकाको शंकरपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा ८ सय ५ जनाले सेवा लिएकोमा ९५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । त्यसैगरी शिवनाथ गाउँपालिकामा आयोजना गरिएको शिविरमा ६ सय ३३ जनाले आँखा परीक्षण गराएकोमा १ सय ६ जनाको आँखाको मोतिबिन्दु र चार जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशव बहादुर चन्दले बताए । गाउँपालिकाबासीको सहजताका लागि शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी गराए ।