बैशाख ३१ कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–९ सुन्दरपुरकी चाँदनी विष्टको श्रीमान् विराजन सहितका नेपाली नेपाल पर्काउने आन्दोलन अधुरै रहेको छ । रुसी सेनामा भर्ती भएका आफ्ना श्रीमान् विराजन सहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनु पर्ने माग राखेर आन्दोलन गरी रहेकी उनका श्रीमानको मृत्यु भए पछि उनको आन्दोलन अधुरै रहेको हो । काठमाडौंमा पाँच महिना देखि रुसी सेनामा कार्यरत श्रीमान विराजनलाई स्वदेश झिकाउन आन्दोलन गर्दै आएकी उनले श्रीमानको शव पनि पाउन सकेकी छैनन ।
आन्दोलन छोडेर काम विशेषले घर आएकी उनी वैशाख २१ गते फेरी आन्दोलनकै लागि काठमाडौं फर्किंदै गर्दा उनको परिवारले विराजनको मृत्युको खबर पाएका थिए । बिहीबार मृतकको कुशको पुतला बनाएर महाकालीमा अन्तिम संस्कार पनि गरि सकिएको छ । लास समेत नआए पछि उनी छोरा विश्वासजंग श्रीमानको किरियामा बसेकी छिन । ४३ वर्षीय विराजन मंसिर १८ गते भारतको दिल्ली हुँदै रुस पुगेका थिए । उनीसँगै उनका भाइ निराजन र नाति नाता पर्ने छिमेकी लोकेन्द्र पनि रुसी सेनामा भर्ती हुन गएका थिए ।
परिवारका अनुसार उनीहरू सबैजना दलाललाई जनही ७ लाख बुझाएर रुस गएका थिए । मंसिर २१ गते सेनामा भर्ती भएका उनीहरू चैतको मध्ये सम्म युद्धमा खटिइ नसकेको परिवारले बताएका छन । युद्धमा नखट्दा सम्म सम्पर्कमा रहेका उनीहरू युद्धमा खटिए पछि सम्पर्कविहीन जस्तै हुन पुगेको र त्यसको केही समयपछि विराजनको मृत्युकै खबर आएको पारिबारिक स्रोतले बताएको छ । त्यसैगरी मृतकका भाइ र नाति पनि सम्पर्कमा नभएको बताईएको छ । जसले गर्दा परिवारमा शोकमाथि शोक परेको छ ।
एउटै मोर्चामा संगै रहेका भाई निराजन बिष्टलाई बाहिर राखेर बंकरभित्र पसेका विराजनको एम्बुस बिष्फोटमा परेर मृत्यु भएको बताइएको छ । उनी युक्रेनी भूभाग तोकमाकमा रहेको बताईन्छ । मृतक विराजन १० वर्ष नेपाली सेनामा काम गरेर रोजगारीका लागि विभिन्न देश सिंगापुर, यूएई लगायतका देशमा पुगेर कतै सेक्युरिटी गार्ड त कतै पानी जहाजमा काम गरेको पारीबारिक स्रोतले बताएको छ । बैतडीको पुर्चौडी गोरा गाउँ पुख्र्यौली घर भएका बिष्टको हाल महेन्द्रनगरसंगै सानोठिमी भक्तपुरमा समेत बसोबास रहेको बताईन्छ ।
युक्रेनमा अस्ताएका बिष्टका परिवाजनले शव पाउने संभावना नरहेपछि मृत्यु भएको आठौ दिनमा बिहीवार कुँशको शव बनाएर कञ्चनपुरस्थित महाकाली नदीमा उनको अन्त्येष्टि गरेका थिए । रुसी सेनामा रहेका बर्दियाका परशुराम चौधरी, सुर्खेतका महेश चन्द र भारतीय नागरिक अंकितले बिराजनको मृत्यु भएको पुष्टि गरेपछि परिवारजनले बिहीवार उनको मृत्यु संस्कार गरेको बताईएको छ ।