बैशाख ३० धनगढी । प्रहरीमाथि जासुसी गरेको आरोपमा जिल्ल प्रहरी कार्यालय कैलालीले दुई जनालाई पक्राउ गरेको छ । तस्कर समूहहरूको तर्फबाट प्रहरीमाथि निगरानी गरेको आरोपमा प्रहरीले दईजनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालीका वडा नम्बर ७ मनेहराका बुद्दीराम चौधरी र धनगढी उप–महानगरपालीका वडा ९ तारातालका पदम पार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार चौधरीलाई पक्राउ गरेपछि कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरूले प्रहरीमाथि निगरानी राख्ने गरेको खुलासा भएको हो । चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटी सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी आइतबार बिहान पार्कीलाई पनि प्रहरीले पक्राउ गरेको जानकारी गराएको हो ।
उनीहरुले प्रहरी टोलीको गोप्य रूपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको बारेमा निगरानी राख्ने र तस्करहरूलाई यस बारेमा जानकारी दिने गरेको खुल्न आएको जिल्ल प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता कविन्द्र बहादुर बोहराले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । तस्कर समूहले धनगढीमा प्रहरीविरुद्ध जासुसी गर्ने व्यक्तिहरूको समूह बनाएर लामो समय देखि परिचालन गरेको खुल्न आएको सूचनामा उल्लेख गरिएको छ ।
उनीहरूले विगत लामो समय देखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रूपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको बारेमा अवैध रूपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मूलका विभिन्न मानिसहरुको समूहलाई सूचना दिने गरेको खुलेको उल्लेख गरिएको छ ।
पार्की र चौधरीले तस्कर समूहबाट प्रति सूचनाको ५ सय रुपैँया लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू दुवै जनालाई राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसुरमा पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ ।