बैशाख २७ धनगढी । कैलालीको भजनी नगरपालिकासँग जोडिएको हुलाकी राजमार्गलाई कान्द्रा नदीले क्षति पु¥याउन थालेपछि तटबन्ध निर्माणको काम सुरु गरिएको छ । नदीको कटान नियन्त्रण गरी राजमार्ग र नजिकको बस्ती जोगाउने उद्देश्यले संघीय सरकारको लगानीमा तटबन्ध निर्माणको काम सुरु गरिएको हो ।
भजनी नगरपालीका वडा नम्बर–५ र ७ स्थित लालबोझी र कुटीमा तटबन्ध निर्माणको काम भइरहेको राजमार्ग आयोजनाको कार्यालयले जानकारी गराएको हो । कार्यालयका सूचना अधिकारी इन्जिनियर बर्ख कठायतले लालबोझीमा एक हजार ८५ मिटर र कुटीमा तीन सय मिटरमा ग्याबिन सहितको तटबन्ध निर्माण भइरहेको जानकारी गराए ।
कान्द्रामा आएको बाढीले लालबोझीमा हुलाकी सडक कटान गर्दै आएको बताउदै उनले राजमार्ग कटान गरेको क्षेत्रमा एक किलोमिटरमा कालोपत्रे सडक सहित तटबन्ध निर्माणको काम गरिने जानकारी गराए । तटबन्ध र एक किलोमिटर कालोपत्रे निर्माणका लागि १३ करोड ७९ लाख रुपियाँमा २०८० वैशाखमा ठेक्का सम्झौता भएको उनले जानकारी गराए ।