बैशाख २७ कञ्चनपुर । बैशाख २२ गते शनीबारका दिन कञ्चनपुरको दोदा नदीमा नुहाउन गएका बेलौरी नगरपालिका वडा नम्बर–४ शान्तिपुरका १७ वर्षीय विजय कुँवर र राजेन्द्र कुँवरको नदीमा डुबेर मृत्यु भयो । चार जनाको समूहमा गएका उनीहरु मध्ये नदीमा नुहाउने क्रममा दुई जना विजय कुँवर र राजेन्द्र कुँवरको नदीमा डुबेर मृत्यु भएको थियो भने दुई जना बाँच्न सफल भएका थिए । सँगै नुहाउन गएका सोही ठाउँका शिशिर विष्ट घाइते भएर उपचाररत रहेकामा अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
उनीहरु सँगैका समीर सुवेदी भने नदीमा नुहाउन नगएको उनका आफन्तले बताएका छन । मृतक राजेन्द्रका जेठा बुवा कृष्णबहादुर कँुवरले बिहान कम्प्युटर सिक्न भनेर गएका उनीहरु त्यहीँबाट खरबुजा खान भनेर गइसके पछि घटना हुन पुगेको बताए । बिहान कम्प्युटर सिक्न भनेर गएका चारै जना तर्भुज खान भनेर दोदा नदीतिर गएका रहे छन उनले भने ।, त्यहाँ गइसकेपछि समीरले कपाल स्टेट गरेको भएर पानीमा जाँदैन भनेर नगएको रहेछ, अरु दुई जनाले सुरुमा एकैचोटी हाम फालेछन् र गहिरो खाल्डोमा परेछन्, शिशिरले अलि वरै हाम फालेछ उनले भने ।
दुई जना नदीमा भएको झण्डै २० फिट गहिरो खाल्डोमा परेछन्, शिशिरले डुबेडुबे भन्ने बेला समीरले अलिअलि तानेछ, अनि त्यहाँ रहेका राना समुदायका मान्छेहरु काँक्रा तर्भुज बेचिरहेकाहरुले उसको आवाज सुनेछन् र बाहिर निकालेछन् उनले भने । मृतक विजय परिवारका एक्ला छोरा भएको उनले सुनाए । उनका तीन जना दिदी भएको बताउदै उनले विजयले यसै वर्ष एसईई दिएको जानकारी गराए । विजयका बुबा पनि १५ वर्ष अघिबाट बेपत्ता भएको बताउदै उनले कहाँ छन्, कस्ता छन्, जीवित छन् वा छैनन् भन्ने कुनै पनि पत्तो नभएको उनले बताए । विजयकी माइली दिदी पुष्पाले त्यो दिन भाइ कम्प्युटर सिक्ने अनि कपाल काट्ने भन्दै घरबाट निस्केको बताइन् ।
भाइले कपाल पनि काटेर आउँछुँ, कम्प्युटर क्लास पनि जान्छुँ भनेर गएको उनले सुनाईन । त्यसरी नदी जान्छ भन्ने थाहा पाएको भए जान नदिने बताउदै उनले कुन बाटो गएछन्, यो बाटोबाट गएका भए त देखिहाल्थ्यौँ,जान नसदएर रोकिहाल्थ्यौ उनले भनिन । बुबा पनि १५ वर्ष अगाडि बेपत्ता भएको बताउदै उनले १५ वर्षभन्दा बढी समय हुँदा पनि कहाँ गए, किन गए, केही थाह नभएको बताईन ।
प्रहरीमा खबर गरेको बताउदै उनले बुबालाई कतै फेला पार्न नसकिएको बताईन । श्रीमान हराएको पीडा सहेर बसेकी विजयकी आमा शारदादेवी कुँवरलाई अहिले छोराको पीडाले सताउने गरेको छ । बस्नलाई जमिन समेत नभए पछि माइतीले घर बनाउनका लागि दिएको सानो जमिनमा छोराछोरी राखेर गुजारा चलाइरहेकी उनलाई छोरा गुमाउनु पर्दाको असह्य पीडाले सताउने गरेको छ ।