बैशाख २६ डोटी । डोटीको सायल गाउँपालीका वडा नम्बर ३ का बासिन्दा अहिले पनि अध्यारोमा बस्न बाध्य भएका छन । नजीकैको बस्ति उज्यालोले झिलीमिली हुँदा सायल गाउँपालिका वडा नम्बर–३, कम्छडा गाउँका बासिन्दा अध्यारोमा बस्न बाध्य भएका हुन । उक्त वडाका दर्जनौ बस्ती छिमेकी गाउँको उज्यालो नियालेर अँध्यारो छिचोल्न झोरो बालेर बस्न बाध्य भएका छन । गाउँपालिकाको कार्यालय रहेको दुदिलीगढा क्षेत्र झिलीमीली हुँदा उनीहरु भने घरको आँगनबाट बिजुलीबत्तीले उज्यालो उक्त क्षेत्र नियाल्न बाध्य भएको स्थानीय जय बयाडीले बताए । वडाध्यक्ष नवराज उपाध्यायले २०६७ सालमा उक्त क्षेत्रलाई उज्यालो पार्ने उद्देश्यले ग्रामीण विकास सेवा केन्द्र नामक गैरसरकारी संस्थाले ६३ किलोवाट क्षमताको सायलगाढ लघुविद्युत् आयोजना निर्माण गरेको जानकारी गराए ।
आयोजना निर्माण भए पछि छ सय घरधुरीमा विद्युत् बलेको बताउदै उनले एक सय घरधुरीमा मात्र बत्ती बलेको बताए । ६३ किलोवाट क्षमताको लघुविद्युत् आयोजनामा अहिले १५ किलोवाट मात्रै विद्युत् उत्पादन हुने गरेको बतानउदै उनले त्यो पनि नियमित नहुने बताए । बाढी, पहिरो र खोलामा पानीको मात्रा घटेका कारण विद्युत् नियमित गर्न नसकिएको उनले जानकारी गराए । त्यसको मर्मतसम्भार पनि महँगो भएको बताउदै उनले एक वर्षको मर्मत खर्च ३० लाख रुपियाँ भन्दा माथि हुने बताए । राष्ट्रिय प्रसारण लाइनको अति आवश्यकता भएको बताउदै वडाध्यक्ष उपाध्यायले दर्जनबढी गाउँ अँध्यारोमा रहेको बताए । वडा नम्बर ३ का ६ सय ११ घरधुरी बत्ती वायरिङ गरेर राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा रहेको उनले बताए ।
वडाका साप्रा, बेटारा, कताली, कम्छाडा, गर्खा, पानी खोला, सेल्धारा, नौतोली, सैन गाउँ र रावल गाउँवासी उज्यालोको पर्खाइमा रहेको उनले जानकारी गराए । गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न पनि टाढाको छिमेकी गाउँ जानुपर्ने बाध्यता रहेको उनले बताए । अँध्यारोको सामना गर्न दियालो बाहेक अन्य विकल्प नभएको बताउदै उनले कसै कसैको घरमा सोलार भएको बताए । मोबाइल, रेडियो, टर्चलाइट चार्ज गर्न घण्टौँ हिँडेर पारिको गाउँमा जानु पर्ने बाध्यता रहेको उनले सुनाए । घरेलु उद्योग, कुटानी पिसानी मिल सञ्चालन गर्न पनि पनि समस्या भएको उनले बताए ।
सामान्य बिजुली पनि बल्न नसक्नु दुःखद विषय भएको बताउदै उनले स्थानीयले बत्तीकै कारण बसाइँ सर्ने गरेको बताए । निर्वाचनका समयमा सबैको चुनावी मुद्दा सायलमा बिजुली बाल्ने भए पनि चुनाव सकिए पछि मुद्दा र नेता दुवै हराउने गरेको स्थानीयले बताएका छन । सरकारले बस्तीसम्म विकास पु¥याउन नसकेको उनीहरुले गुनासो गरेका छन । आर्थिक अवस्था राम्रो भएका धेरै परिवार बसाइँ सरिसकेको बताईएको छ । गाउँपालिकाको वडा नम्बर २, छपाली र कौराडीका स्थानीय पनि उज्यालोको पर्खाइमा रहेको बताईएको छ ।
छिमेकी जिल्ला बझाङ र अर्को गाउँबस्तीमा भिलिमिली बत्ती बलेको देख्ने छपाली र कौराडीवासीको पनि पहिलो माग बिजुली रहेको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । उनले आफ्नो कार्यकालभित्र गाउँपालिकाका सबै बस्तीमा विद्युत् विस्तार गर्ने योजना रहेको बताए । स्थानीय सरकारको बजेट घट्दै गइरहेकोे बताउदै उनले स्थानीय सरकारले आफ्नो बजेट खर्च गरेर विद्युत् विस्तार गर्न सक्ने अवस्था नभएको बताए ।
प्रदेश सरकार, संघ, सरकार र विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको बताउदै उनले उज्यालोका लागि परेको बताए । निर्माण कम्पनीले समयमै काम नगर्दा विद्युत् विस्तारमा ढिलाइ भएको बताउदै उनले त्यस्ता कम्पनी र ठेकेदारलाई कारबाही गरेर काम अघि बढाउने योजनामा आफू रहेको बताए । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख शिवशङकर सोनीले सिर्मा र ओखट्या गाउँका डेढ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको बताउदै सायल गाउँपालिका लगायत डोटीका अन्य क्षेत्रमा चाँडै राष्ट्रिय प्रसारण लाइन विस्तार हुने बताए । विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण आयोजना कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले ढुवानीको काम अघि बढेको जानकारी गराए ।