बैशाख २३ डडेल्धुरा । डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनीबार राती नवदुर्गा गाउँपालिका वडा नम्बर–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिप्पर दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।
टिप्पर दुर्घटनामा धादिङको गजुरी गाउँपालिका वडा नम्बर–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी गराएको हो । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डडेल्धुराका प्रहरी प्रवक्ता कुसुम नायकले जानकारी दिए ।
उनले दुर्घटनामा धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका वडा नम्बर–४ का २८ वर्षीय हिक्मत विक घाइते भएको जानकारी गराए । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक नायकले बताए । उनीहरूको अवस्था मध्यम रहेको उनले बताए ।
बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको टिप्पर शनिबार राति साढे १० बजे दुर्घटना भएको बताउदै उनले टिप्पर सडकबाट २ सय ५० मिटर तल खसेको जानकारी गराउदै दुर्घटनाको कारण नखुलेको बताए ।