बेशाख २२ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक पुनः स्थगित भएको छ । अर्को सूचना जारी नभए सम्मको लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । विश्वासको मत लिने प्रयोजनका लागि भन्दै प्रदेशसभाको बैठक शनिबार बेलुका ५ बजेपछिको लागि आह्वान गरिएको थियो ।
सत्ता साझेदार दल नेकपा एमालेको असन्तुष्टिका कारण नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट प्रदेशका मुख्यमन्त्री बनेका सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा परेको थियो । आफूसँग छलफल नै नगरी विश्वासको मत लिने प्रक्रिया अघि बढाएको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।
शनीबार बेलुका ५ बजे बस्ने भनिएको बैठक पनि स्थगित भएको हो । यसअघि शुक्रबार बेलुका ५ बजे बोलाइएको प्रदेशसभा बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । त्यसैगरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन । एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि बैठक स्थगित भएको थियो । उपचुनावमा बझाङबाट निर्वाचित आफ्ना उम्मेदवार दमन भण्डारीको शपथ नभए सम्म एमालेले विश्वासको मत नदिने अडान राख्दै आएको छ ।