बैशाख २१ धनगढी । मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार साँझ ५ बजे बोलाइएको बैठक शनिबार साँझ साढे ५ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रदेशसभा सचिव युवराज जैशीले शनिबार साँझ साढे ५ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन । सत्ता पक्षबाटै विश्वासको मत नपाइने खतरा बढेपछि मुख्यमन्त्री सोडारीको आग्रहमा प्रदेशसभाको बैठक स्थगित गरिएको हो । सल्लाह नै नगरी विश्वासको मत लिन खोजेको भन्दै सोडारीलाई मत नदिने एमालेले बताएको थियो ।
नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिने विषयमा विभाजित छ । पार्टीका संरक्षक रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । रञ्जिता श्रेष्ठ पक्षका दुई जना सांसद भने विश्वासको मत दिने पक्षमा रहेका छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् । सत्ताधारी दलहरू नै विश्वासको मतको पक्षमा नउभिने संकेत पाएपछि सोडारी अफ्ठ्यारोमा परेका हुन् । सत्तारुढ माओवादी केन्द्रले भने सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने संसदीय दलका नेता मानबहादुर धामीले बताए ।
नेपाली कांग्रेसले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको थियो । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको हो । सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिन उनलाई ५ जेठ सम्मको समय छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत आर्जन गर्न २७ सांसद आवश्यक पर्छन् । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रञ्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । प्रदेशसभामा हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन् ।