पौष ०४ धनगढी । भारतबाट नेपाल आउने क्रम्मा नेपालीहरु लुटिनेक्रम बढ्दै गएको छ । भारतमा मजदुरी गरेर घर फर्किने क्रम्मा नेपालीहरु लुटिनेक्रम बढ्दै गएको हो । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–२ खडक चोकका गणेशबहादुर रावत बाटोमा लुटिएका थिए । उनले कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको एक लाख २८ हजार ८ सय रुपैया र एक थान मोबाइल लुटिएको थियो । कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक जना नेपालीले चिसो पेय पदार्थ खुवाएर उनलाई लुटेका थिए ।
हरिद्वारमा लुटिए पछि अलपत्र परेका उनलाई एक जना नेपालीले नै उद्वार गरेर बनबासा सम्म पु¥याएका थिए । गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको थियो । त्यसैगरी गत कात्तिकमै भारतबाट घर फर्किरहेका थप दुई जना नेपाली कामदार पनि बाटोमै लुटिएका थिए । भारतको हरिद्वारमै लुटिएका उनीहरू पनि अलपत्र अवस्थामा गड्डाचौकी पुगेका थिए । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–७ च गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका थिए ।
सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल र दिनेशको ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको थियो । दुवैजना लेह–लद्दाखमा मजदुरी गरेर तिहारका लागि घर फर्किरहेका थिए । लद्दाखबाट हिँडेका उनीहरू एक दिन मनाली बसेर दोस्रो दिन कुल्लुमा दशहरा मेला हेरर तेस्रो दिन हरिद्वार पुगेका थिए । हरिद्वारमा बसबाट झर्ने बितिक्कै सुर्खेत घर बताउने एक जना नेपालीले चिया पिउन होटेलमा लगेर उनले चिया बिस्कुट खान दिए पछि चिया बिस्कुट खाएको केही बेरमै दुवै जना बेहोस भएका थिए ।
त्यस पछि गड्डाचौकी पुगेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको थियो । नागरिक सहायता कक्षका कर्मचारी नासु दानसिंह बोहोराका अनुसार दसैंको अवधिमा यसरी लुटिएका ५ जना पुगेका छन् । उनीहरु सबै हरिद्वारमै लुटिएका थिए । उत्तराखण्ड, हिमाचल लगायतका क्षेत्रमा काम गर्ने सबै हरिद्वारमै झर्ने र त्यहाँ नेपालीहरूबाटै लुटिने गरेको उनीहरुले बताएका छन । सुर्खेत, कालीकोट, अछाम आफ्नो घर बताउँदै कामदारहरूलाई पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुट्ने गरिएको उनले बताए ।
त्यस्तै भारतबाट मजदुरी गरेर घर फर्किन लागेका अर्का नेपाली कामदार पनि बाटोमै लुटिएका छन् । हरिद्वारमा लुटिए पछि अलपत्र परेका उनी मंगलबार गड्डाचौकी नाकामा पुगेका थिए । भारतको कर्णप्रयागमा ज्याला मजदुरी गर्ने सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर–६ का ३७ वर्षीय विष्णु विक हरिद्वारमा लुटिएका हुन् । मंसिर ३० मा कर्णप्रयागबाट घर हिँडेका उनी सोही दिन पुस १ गते हरिद्वार पुगेका थिए । बसपार्कमा झर्ने बित्तिकै ३ जना सुर्खेत घर बताउने नेपालीले नै बेहोस बनाएर लुटेको विकले बताएका थिए ।
दोस्रो दिन होसमा आउँदा मोबाइल, झोला र पैसा केही नभेटिएको उनले बताए । कर्णप्रयागमा ज्याला मजदुरी गरेर कमाएको २५ हजार भारु लुटिएको उनले बताए । एक थान मोबाइल र लुगाकपडा सबै लुटेको उनले बताए । हरिद्वार बसपार्कमा प्रहरीसँग सहयोग मागेर बनबासा सम्म आएको उनले बताए । मंगलबार बिहान गड्डाचौकी पुगेका विकलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेको छ । दसैंयता भारतबाट घर फर्किने क्रममा लुटिएका ११ जना नागरिक सहायता कक्षको सम्पर्कमा आएको र उनीहरु मध्ये १० जना हरिद्वारमै लुटिएको बताईएको छ ।