मंसिर २७ धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नवजीवन सहकारी जस्ता धेरै संस्था भएमा सरकार समेत बलियो हुने उनले बताएका हुन् । नवजीवन सहकारी संस्थाको धनगढीमा आयोजित ३० औ वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि मन्त्री देउवाले केही सहकारीले सेयर सदस्यको पैसा दुरुपयोग गरेका कारण सहकारी प्रति जनताको हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए ।
अहिलेको समय सहकारीबाट कोही अलग रहन सक्दैन, सबै सहकारीमा जोडिएका छन् । अव आर्थिक अवस्था कमजोर भएकालाई कार्यक्रम ल्याएर स्वरोजगार बनाउनेतर्फ लाग्न जरुरी भएको मन्त्री देउवाले बताए । त्यसैगरी प्रदेशसभा सदस्य धर्मराज पाठकले सहकारी भनेको राज्यको पिल्लर भएको बताउदै सहकारीको दायरा सरकारले बढाउनु पर्ने बताए ।
सहकारीमा देखिएका समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताउदै उनले जनताको हकहितमा सहकारीले काम गर्नु पर्ने बताए ।ं सहकारी संस्थाका अध्यक्ष देवबहादुर वमले नवजीवन सहकारीको ब्राण्डमा बजारमा छिटै चामल आउने बताउदै त्यसका लागि ४ हजार ८ सय क्विन्टल धान खरिद गरिसकेको जानकारी गराए । माघ महिनामा नवजीवनका दुई वटा डडेलधुरा र काठमाडौँमा शाखा खोल्न अनुमति पाइसकेको समेत उनले जानकारी गराए ।
२०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल ३२ हजार ७ सय ५४ जना शेयर सदस्य रहेका छन् । संस्थाले सेयर सदस्य सुत्केरी हुँदा १० हजार, मृत्यु संस्कारमा २० हजार र कुनै ठुलो अङ्ग प्रत्यारोपण गर्नु परेमा एक लाख सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७९–८० को प्रतिवेदनमा २०८० असार मसान्त सम्म जगेडा तथा कोषमा ५५ करोड ५४ लाख रुपियाँ पुगेको जानकारी गराईएको छ ।
२०७९ असारसम्म उक्त कोषमा ५० करोड ८८ लाख रकम रहेको छ भने आर्थिक मन्दीका बाबजुद पनि संस्थाको बचत संकलनमा केही असर नपरेको बताइएको छ । गत वर्षको निक्षेप चार अर्ब नौ करोड १३ लाख ३० हजार रहेकोमा वृद्धि भई २०८० असार मसान्त सम्म चार अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०८० असार मसान्त सम्म संस्थाको नगद र बैक मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको छ । नवजीवन सहकारी संस्थाले १२ करोड ४८ लाख ६२ हजार ४ सय ८ रुपैया २७ पैसा मुनाफा आर्जन गरेको छ । त्यसैगरी संस्थाको लगानी २ करोड १९ लाख ९ हजार पाच सय लगानी गरेको छ ।
त्यसैरी कर्जा तथा सापटी ३ अर्ब ९१ करोड ४६ लाख २५ हजार २२ रुपैया ३८ पैसा रहेको छ । त्यसैगरी ११ करोड ९३ लाख ५४ हजार ३० हजार ५७ रुपैया नगद तथा बैक मौज्दात रहेको छ । त्यसैगरी शेयर पुजी २८ करोड २४ लाख ५४ हजार २ सय रहेको छ भने कुलपूजी तथा दिियत्व ५ अर्ब ५० करोड ३७ लाख ८६ हजार ८ सय ४३ रहेको छ ।
कार्यक्रममा पूर्व सांसद एवम् नवजीवनका सल्लाहकार महेश्वर पाठक, धनगढी उपमहानगरकी उपमेयर कन्दलाकुमारी राना, पुनर्वास नगरपालिकाका मेयर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।